काठमाडौं – केन्द्रीय राजनीतिमा नेपाली कांग्रेस र नेकपा एमाले प्रतिस्पर्धी दल भए पनि उद्योगी व्यापारीको प्रतिनिधित्व हुने उद्योग संघको नयाँ नेतृत्वका लागि रुपन्देहीमा असोज २३ गते हुने निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ ।
रुपन्देही उद्योग संघको निर्वाचनमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) पार्टी गठबन्धनबाट बाहिरै रहेको छ ।
संघको चुनावका लागि एमाले निकट उद्योगी माधवप्रसाद पौडेलको नेतृत्वमा साझा प्यानल घोषणा गरिएको छ । रुपन्देही उद्योग संघको ४३औं साधारणसभा तथा २२औं अधिवेशन असोज २३ गते हुँदैछ ।
हाल वरिष्ठ उपाध्यक्ष पौडेलको नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट उद्योगीले संयुक्त प्यानल बनाएका छन् ।
संघको आगामी कार्यकालका लागि अध्यक्षमा पौडेल, वरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्लेलाई उम्मेदवार बनाउने सहमति भएको छ । सापकोटा हाल प्रथम उपाध्यक्ष हुन् भने पराजुली द्वितीय उपाध्यक्ष र काफ्ले महासचिव रहेका छन् ।
संघको महासचिवमा हालका कोषाध्यक्ष हरिबहादुर खत्री र कोषाध्यक्षमा हालका सचिव हिरामणि भट्टराईलाई साझा उम्मेदवार बनाइएको छ । संघको सचिवमा हाल कार्यसमिति सदस्य रहेका बसन्त ढकाल र महिला सदस्यमा मञ्जु भुसाललाई प्रस्ताव गरिएको छ । सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवालीलाई उम्मेदवार बनाउने सहमति भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।