आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गोदावरीमा यसरी ‘शक्ति’ बढाएर बालकोट गए केपी ओली !

गोदावरीमा यसरी ‘शक्ति’ बढाएर बालकोट गए केपी ओली !

  • मिडिया डबली
  • सोमवार, आश्विन १८ २०७८

  • 3.3K
    SHARES

  • गोदावरीमा यसरी ‘शक्ति’ बढाएर बालकोट गए केपी ओली !

    काठमाडौं – नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन् ।

    माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन् । 

    ललितपुरको गोदावरीमा ३ दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बनेको छ । महाधिवेशनले अबको विधि र नीतिको टुंगो लगाउँदै १०औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म बुटवलमा गर्ने तय गरेको छ । नेतृत्वमा ओली नै दोहोरिने देखिएका छन् । 

    एमालेले कार्यकारी पदमा ७० वर्षे उमेरहद कायमै राखे पनि ओलीलाई ‘सुविधा’ दिएको देखिन्छ । कार्यकालकै बीचमा ७० वर्ष पूरा भएमा कार्य गर्न पाउने उपमहासचिव विष्णुप्रसाद पौडेलले बताएका छन् ।

    ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नभइसकेको अवस्थामा उम्मेदवार हुन पाइन्छ,’ उपमहासचिव पौडेलले भने, ‘७० वर्ष भन्नाले छोएको होइन, पूरा नहुञ्जेलसम्म उम्मेदवार हुन पाउने भनिएको हो ।’ ओली आगामी फागुनमा ७० वर्ष पुग्दै छन् । नेतृत्व छान्ने महाधिवेशन मंसिरमा तोकिएको छ । 

    एमालेले एउटै कार्यकारी पदमा २ पटक मात्रै उम्मेदवार हुन पाउने व्यवस्था समेत गरेको छ । ‘उसले हारोस् वा जितोस्, उही पदमा २ पटक मात्रै उम्मेदवार हुने व्यवस्था गरेका छौं,’ पौडेलले भनेका छन् । 

    विधान महाधिवेशनमा ओली अध्यक्ष भएपछि पार्टीको अवस्था, उनले पहिलो र दोस्रो पटक सरकारको नेतृत्वमा रहेका बेला गरेका कामबारे वृत्तचित्र देखाइएको थियो । प्रतिनिधिले संविधान निर्माण, नाकाबन्दी २०७४ सालको निर्वाचन परिणाम, साढे ३ वर्ष सरकारमा रहँदा गरेका कामको प्रशंसा गरेका थिए । नेताहरुले ओली एमालेको मात्रै होइन, राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको बताएका थिए ।

    एमालेले अब तीनै तहका निर्वाचन जितेर सत्ताको बागडोर पुनः आफूले लिने उद्घोष गरेका छन् । विधान महाधिवेशन समापनका क्रममा आईतवार ओलीले निर्वाचनतिर केन्द्रित हुन नेता/कार्यकर्तालाई निर्देशन दिए । यससम्बन्धी प्रस्ताव नै महाधिवेशनले पारित गरेको छ । ओलीले १५ महिनाभित्र हुन लागेका तीनै तहका निर्वाचनमा बहुमत ल्याउने तयारीसाथ अघि बढ्न निर्देशन दिएका छन् ।

    ‘जितेर आएका छौं, अब जितेर देखाउँछौं,’ ओलीले भने, ‘हामीले जित्नैपर्छ । हाम्रो विजय यात्रा कसैले रोक्न सक्दैन ।’

    ओलीले देश बनाउने कर्तव्य एमालेको भएको बताएका छन् । ‘स्थानीय निर्वाचनमा जित्नै पर्छ । प्रदेश र संघमा पनि हामीले बहुमतसहित सरकार बनाउनुपर्छ,’ उनले भने । प्रदेश र केन्द्रीय सरकार पनि एमालेको बहुमतले बन्ने दाबी उनले गरेका छन् । उनले छिट्टै हुने स्थानीय निर्वाचनमा पार्टीलाई विजयी बनाउन सक्रियताकपूर्वक लाग्न निर्देशन दिएका छन् ।

    ओलीले पार्टीको दशौं महाधिवेशनपछि मुलुक निर्वाचनतर्फ जाने बताएका छन् । जिल्ला, पालिका र वडामा पार्टीका अधिवेशन तोकेर निर्धारित समयमा सम्पन्न गर्न पनि उनले निर्देशन दिएका छन् । ‘हामीले चुनावमा जित्ने उम्मेदवार छनोट गर्नुपर्छ,’ ओलीले भने, ‘विपक्षी दलहरुको रणनीति हेरेर निर्णय लिनुपर्छ । आजदेखि सबै जना यो काममा लागौं । हाम्रो महाधिवेशनलगत्तै निर्वाचन हुने भएकाले अब कुनै विलम्ब नगरौं ।’

    अध्यक्ष ओलीले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको, पार्टीलाई आगामी निर्वाचनमा स्पष्ट बहुमतमा पुर्‍याउने एक मात्र ध्येय रहेको बताएका छन् । मुलुकलाई अल्पविकसितबाट विकसित राष्ट्र बनाउनुपर्ने तथा सन् २०३० भित्र दीगो विकास लक्ष्य भेट्नुपर्ने लगायत धेरै कार्यभार एमालेको काँधमा रहेको उनले बताएका छन् । अहिले पनि ५१ प्रतिशत जनता एमालेको पक्षमा रहेको दाबी ओलीले गरे । 

    स्थायी कमिटी सदस्य रघुजी पन्तले निर्वाचनमा जुट्न कार्यकर्तालाई आह्वान गर्दै समसामयिक प्रस्ताव राखेका थिए । हलबाट पारित प्रस्तावमा लेखिएको छ, ‘यो महाधिवेशन आसन्न स्थानीय तह निर्वाचनको तयारीमा लाग्न, आफ्ना पालिकाहरुमा पार्टीको विजय सुनिश्चित गर्न र यसका लागि आवश्यक संगठनात्मक व्यवस्थापनलाई तत्काल तीब्रता दिन सबै कमिटी तथा कमरेडहरुलाई आह्वान गर्दछ ।’

    महाधिवेशनले अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव पौडेलको विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । हालै सरकारबाट हटेको र पार्टी विभाजनको पीडा समेत भोगेको एमालेले महाधिवेशनमार्फत शक्ति प्रदर्शन समेत गरेको छ । महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि सहभागी भएका थिए ।

    महाधिवेशनमा ३ वटा दस्तावेजमा घनिभूत छलफल भएको जनाइएको छ । त्यसक्रममा १० समूह बनाइएका थिए । 

    एमालेले वरिष्ठ उपाध्यक्ष पद थप गरेको छ । प्रस्तावित विधानमा हटाइएको उपमहासचिव कायमै राखिएको छ । बरु २ उपमहासचिवको सट्टा अब १ पद मात्रै हुने भएको छ । एमालेले पदाधिकारीको संख्या १५ बनाएको छ । 

    नयाँ विधानमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवको व्यवस्था गरिएको छ । उपाध्यक्ष घटाउने र उपमहासचिव हटाउने प्रस्तावप्रति प्रतिनिधिले असहमति जनाएका थिए । नवांै महाधिवेशनले ५ उपाध्यक्ष, २ उपमहासचिव र ५ सचिवको व्यवस्था गरेको थियो ।

    प्रतिनिधिको सुझावका आधारमा १५ पदाधिकारीको व्यवस्था गरिएको उपमहासचिव पौडेलले बताएका छन् । केन्द्रीय कमिटी २२५, स्थायी कमिटी ४५ सदस्यीय हुने भएका छन् । 

    एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई थप उन्नत बनाउने भएको छ । एमालेलेल जबजलाई विकल्परहित भनेको छ र यसलाई सिद्धान्त, कार्यक्रम र दर्शन नै मानेको छ । जबजलाई समाजको समग्र रुपान्तरणका समष्टिगत अवधारणा मानेर महाधिवेशनबाट पारित गरेको छ । मदन भण्डारीले जबजको अवधारणा ल्याएका थिए । पाँचौं महाधिवेशनले यसलाई नेपाली क्रान्तिको कार्यक्रम र छैटौंले नेपाली क्रान्तिको सिद्धान्तका रुपमा अनुमोदन भएको थियो । एमालेले यसलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । 

    उपमहासचिव घनश्याम भुसाललगायत केही नेताले भने जबजमा सुधार गर्नुपर्ने तर्क राख्दै आएका छन् । संस्थापन पक्ष भने यताउता गर्न उन्मुख देखिएन । 

    ओलीले जबज कठिन वर्गसंघर्षबाट प्रतिपादित सिद्धान्त रहेको उल्लेख गरेका छन् । ‘जबज फुत्त निस्किएको होइन । यो कठिन वर्गसंघर्ष र राष्ट्रिय, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको बीचबाट निस्किएको हो,’ उनले भने, ‘यो सिन्द्धान्त पनि हो, कार्यक्रम पनि हो । यसभित्र दर्शन पनि छन् ।’ यसलाई दशांै महाधिवेशनले अझ उन्नत बनाउने उनले बताएका छन् ।

    श्रमजीवी वर्गको हित रक्षाका लागि सिद्धान्त र व्यवहारलार्ई अघि बढाउँदै कार्यक्रमका रुपमा आएको जबजलाई अहिले मार्गदर्शक सिद्धान्तका रुपमा पार्टीले अंगिकार गरेको उनले बताएका छन् । 

    यसले द्वन्द्वात्मक भौतिकवाद र बहुदलीय प्रतिस्पर्धालाई अवलम्बन गरेको ओलीले स्पष्ट पारे । ‘यो जडसूत्र होइन, यसले जीवनको गतिसँगै परिवर्तनलाई आत्मसात गरेको  छ,’ ओलीले भने ।  

    नेपाली समाज समाजवाद उन्मुख दिशामा रहेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘नागरिकले सम्मानजनक जीवनयापन गर्न पाउने अधिकार सहितको अवस्था सिर्जना गर्नु नै समाजवादउन्मुख अवस्था हो ।’ ओलीले समाजवाद जनता थाहा पाउने हुनुपर्ने बताएका छन् ।

    समाजवादमा पुग्न राष्ट्रिय पुँजीको विकास गर्न एमाले प्रतिबद्ध रहेको उनले बताएका छन् । ओलीले कार्यकर्तालाई उत्पादनमूलक कार्यमा जोडिन आह्वान गरेका छन् । 

    प्रतिनिधिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको निर्वाचन प्रणालीमा जानुपर्ने सुझाव दिएका थिए तर यो विषयमा महाधिवेशनले कुनै प्रस्ताव पारित गरेन । ५ समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने निष्कर्ष निकालेका थिए । एमालेले संविधानसभा निर्वाचनमा यही विषय उठाएको थियो तर पछि हालको संसदीय व्यवस्थामा उसले सहमति जनाएको थियो ।

    गण्डकी प्रदेश, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय र प्रवास, प्रदेश २, प्रदेश १ र जनवर्गीय संगठन समूहले सुझाव दिएका थिए । गण्डकीबाट केन्द्रीय सदस्य जगत विश्वकर्माले बढी खर्चिलो निर्वाचन प्रणालीमा व्यापक सुधार गर्नुपर्ने बताए । 

    एमालेले प्रदेश, जिल्ला, पालिकाको संख्या निर्वाचन क्षेत्रको प्रतिनिधित्वको आधारमा निर्धारण गरेको छ । त्यसका लागि ५० आधार संख्या तोकिएको छ । अब प्रदेश कमिटीको ५० जना आधार संख्या हुन्छ । आधार संख्यासहित प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रअनुसार ५ जनाको दरले प्रदेश कमिटीमा रहनेछन् । विशेष प्रदेश कमिटीको यही व्यवस्था गरिएको छ । 

    जिल्ला कमिटीमा सुरूको आधार संख्या ५० हुनेछ । त्यसबाहेक जिल्ला कमिटीमा प्रत्येक प्रदेश सभाको निर्वाचन क्षेत्रबाट १५/१५ जना थप प्रतिनिधि रहनेछन् । यसरी जिल्ला कमिटीको अधिकतम संख्या तय हुनेछ । 

    विशेष जिल्लामा इलाका बराबर १५ संख्या हुने जनाइएको छ । पालिका कमिटीमा ५० आधार संख्या राखिएको छ । प्रत्येक वडाबाट ५/५ जना हुनेछ । वडा जिल्ला कमिटीले तोकेबमोजिम हुने व्यवस्था गरिएको जनाइएको छ । 

    एमालेले विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग बनाएको छ । आयोग सदस्यमा महेश नेपाल, सानुराज पोखरेल, रीता सिम्खडा, केवालाल चौधरी, बाबुराम दाहाल, डा. कुन्सान लामा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बीसी, पवित्रा निरौला, विमला विक, लोकबहादुर थापा र हिमकला गैरे रहेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend