काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ८४ दिन बित्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारुढ गठबन्धनको आलोचना बढिरहेका बेला मन्त्री भागबण्डामा प्रधानन्यायाधीशलाई समेत कोटा छुट्याउने विषयले प्रवेश पाएको छ ।
उच्च स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादीलाई यसअघि दिने सहमति भएको ५ मन्त्रालयमा १/१ मन्त्रालय घटाएर प्रधानन्यायाधीश निकट व्यक्तिलाई मन्त्री बनाउने तयारी सत्ता गठबन्धनले गरेको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आईतवार बसेको सत्ता गठबन्धन आवद्ध कार्यदलको बैठकमा समेत उपेन्द्र यादवको दल जसपा र नेकपा एसलाई दिने गरी यसअघि गरिएको सहमतिबाट नेपाली कांग्रेस र माओवादी केन्द्र पछाडि हटेका छन् ।
‘पूर्व सहमतिअनुसार कांग्रेसले ७, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले समान रुपमा ५/५ मन्त्री र १ राज्यमन्त्री लिने भन्ने थियो तर आईतवार कार्यदलको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने संख्याका आधारमा भन्ने विषय आयो, कांग्रेस माओवादी एक कदम पछि हटे,’ उच्च स्रोतले भन्यो ।
मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका लागि समेत कोटा छुट्याउनुपर्ने विषयले प्रवेश पाएपछि राजनीतिक माहोल नै तरंगित भएको छ । सत्ता गठबन्धनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई १ वा २ मन्त्रालय दिने गरी छलफल हुँदै आइरहेको छ तर यो विषयमा गठबन्धनभित्र असन्तुष्टि देखिएको छ ।
संघीय संसद्को सदस्य नरहेको व्यक्तिलाई समेत ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार प्रधानन्यायाधीशलाई सत्ता गठबन्धन आवद्ध दलले मन्त्रीको भाग दिन लागेका छन् ।
‘प्रधानन्यायाधीशलाई पनि भाग लगाउँदा अन्य दलको कोटा घट्ने देखिन्छ, जसपा र नेकपा एसलाई १/१ मन्त्री घटाएर प्रधानन्यायाधीशलाई कोटा दिने गरी संवाद भइरहेको छ,’ स्रोतले भनेको छ ।
जसपाका नेता महेन्द्रराय यादवले भने सो विषयमा सत्ता गठबन्धनमा कुनै छलफल नै नभएको बताए । ‘त्यो विषयमा गठबन्धनमा कुनै छलफल भएको छैन त्यो सम्भावना पनि छैन, हल्ला कहाँबाट आयो थाहा छैन,’ उनले भने ।
उच्च स्रोतका अनुसार प्रधानन्यायाधीशको कोटाबाट मन्त्रीका लागि दीपक तिमिल्सिनाको नाम बालुवाटार पुर्याइएको छ । उनी सर्वोच्च अदालतसँग लामो समयदेखि जोडिँदै आएका व्यक्ति रहेका छन् । उनी करीब १५ वर्षअघि सर्वोच्चमा सूचना प्रविधि विज्ञका रुपमा नियुक्त भएका व्यक्ति रहेको बताइएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।