काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला मन्त्रिपरिषद् विस्तारको चटारोमा छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने आकांक्षीहरू धेरै भएकाले प्रचण्डमाथि चर्काे दबाब छ । दबाबबीच प्रचण्डले अब ३ मन्त्री र १ राज्यमन्त्री मात्रै छान्न पाउनेछन् ।
प्रचण्डले माओवादीका सबै सांसदले मन्त्री बन्न चाहिरहेकाले आफूलाई समस्या परेको दुःखेको यसअघि नै पोखेका थिए । बिहीवार अनेरास्ववियू क्रान्तिकारीको सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले त्यस्तै दुःखेको पोखे ।
उनले माओवादी नेता कार्यकर्ता क्रान्तिकारी विरासत बिर्सिएर पद, पैसामा केन्द्रित भएका गुनासो गरे । ‘लड्न जान पाइएन, मर्न जान पाइएन भनेर रुने हामी पद, पैसा, मन्त्री पाइन भनेर रुने भयौं । थाहै नपाए क्रान्तिकारी विरासत बिर्सियौं,’ उनले भने ।
युद्धको बेला अर्कै जिम्मेवारी दिएर लडाइँको मोर्चामा नपठाउँदा लड्न जान पाइएन, मर्न जान पाइएन भनेर रोएको आफूले देखेको भए पनि अहिले पद र पैसामा अल्मलिएको प्रचण्डको दुःखेको छ ।
अध्यक्ष प्रचण्डले भने, ‘जो जति माथि नेतृत्वमा पुग्यो, त्यो त्यति धेरै अवसरवादी भएको छ । जसलाई धेरै पटक मन्त्री बनाएँ, ती पतन भए । जो जति माथि आए उनीहरू नै दलालसँग एकाकार भएका छन् ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै प्रचण्डले आफूले नै एकता गरेको पार्टी र बनाएको प्रधानमन्त्रीबाट प्रतिक्रान्तिको नेतृत्व गर्ने काम भएको र त्यसलाई जनताको सहयोगमा परास्त गर्न सफल भएको बताएका छन् ।
प्रचण्डले भने, ‘संविधानमा उल्लेख भएको परिवर्तनलाई उल्ट्याउने र माओवादी आन्दोलन र नेतृत्वलाई सिध्याउने रणनीति अन्तर्गत प्रतिक्रान्ति भएको थियो ।’ त्यसबेला लडाइँ गर्ने कि छाड्ने भन्ने द्विविधामा समेत परेको प्रचण्डले बताए ।
उनले भने, ‘फेरि पनि मृत्यु वा मुक्तिको ठाउँमा पुगेको देखें मैले । पार्टीको सहयोग र सल्लाहबाट प्रतिक्रान्तिका अगाडि हरहालतमा नझुक्ने निर्णय गरियो र प्रतिक्रान्तिलाई परास्त गर्न सकियो ।’
उनले अहिलेको निर्वाचन प्रणाली नफेर्ने हो भने चुनाव लड्नै नसक्ने अवस्था आउने बताए । उनले चुनाव जित्नको लागि करोडौं खर्च गर्नुपर्ने अवस्था आएकाले त्यसलाई बदल्नुपर्ने बताएका छन् ।
‘लाखौं जनतालाई सडकमा ल्याएर भए पनि यो निर्वाचन प्रणाली खारेज गराएर पूर्ण समानुपातिक प्रणालीको व्यवस्था गर्नुपर्छ । पुँजीपतिहरू मात्रै चुनाव लड्न सक्ने जनताका प्रतिनिधि चुनाव लड्न नसक्ने यो प्रणाली बदल्नुपर्छ,’ प्रचण्डले भने ।
आमचुनावमा हुने खर्च सम्झेर सबैको हालत खराब भएको प्रचण्डले बताए । उनले भने, ‘हामी सबैको हालत खराब भइसक्यो । अध्यक्षको त झन् सात्तै जाने भइसक्यो । सबैले अध्यक्षबाट पैसा माग्ने हुन्, अध्यक्षलाई दिने चाहिँ हरायो । हेडक्वाटरमा लानुपर्छ भन्ने छैन, माग्नुपर्छ भन्ने छ ।’
चुनावमा हुने खर्चको विवरण सुनाउँदै प्रचण्डले भने, ‘अब त गाउँपालिकामा लड्नको लागि पनि ४०–५० लाख चाहिने अवस्था भइसक्यो । प्रदेशमा लड्न त २–४ करोड चाहिने, केन्द्रमा चुनाव लड्न ५–१० करोडभन्दा बढी चाहिने भएपछि हामी चुनाव लड्न सक्छौं ? लड्ने नै हो भने दलाल पुँजीपतिकोमा जाने र अलिकति सहयोग चाहियो भन्नुपर्यो । दलाल पुँजीपतिसँग मागेर २–४ पैसा बाँडेर पनि चुनाव जित्छौं त ?’
केही विद्यार्थी नेताले माओवादी केन्द्र संसदीय दलदलमा फसेको भन्दै नेतृत्वको आलोचना गरेपछि प्रचण्डले ऐना हेर्न सुझाव दिए । ‘हामी संसदीय दलदलमा होइन, संसद भित्रपट्टिबाट संघर्ष गरेर समाजवादतिर लैजान खोजेको हो । केहीले त आलोचना पनि गर्नुभयो । आलोचना गर्नेहरू के गर्दै हुनुहुन्छ ? आफ्नो अनुहार ऐनामा हेर्नुभएको छ ?’ उनले भने ।
दलाल पुँजीपति र नोकरशाहीको पैसा मात्रै बिक्ने ठाउँमा आन्दोलन गरेर पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहियो भनेर जनतालाई आन्दोलनमा ल्याउनुपर्ने उनले आह्वान गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।