आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पार्टीको गुटबन्दी ध्वस्त पार्ने एमालेमा यस्तो उपाय !

पार्टीको गुटबन्दी ध्वस्त पार्ने एमालेमा यस्तो उपाय !

  • मिडिया डबली
  • बिहिवार, आश्विन १४ २०७८

  • 4.6K
    SHARES

  • पार्टीको गुटबन्दी ध्वस्त पार्ने एमालेमा यस्तो उपाय !

    काठमाडौं – पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न १०बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ ।

    नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरक–फरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरु अहिले छिन्नभिन्न भएपछि एमाले भित्रको संगठित गुट विघटन भएको छ ।

    विधान मस्यौदामा महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचनमा भाग लिन नपाउने, व्यक्ति मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

    ‘अध्यक्षसहित सबै पदाधिकारी र सदस्य महाविधेशन वा अधिवेशनबाट निर्वाचित हुने र निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने,’ विधान मस्यौदामा उल्लेख गरिएको छ । 

    विधानमै प्यानल बनाउन बन्देज लगाउन गरिएको प्रस्ताव विधान महाधिवेशनबाट अनुमोदन भएपछि एमालेमा अब संगठित रूपमा गुटबन्दी नहुने दाबी नेताहरुको छ ।

    नवौं महाधिवेशनमा नेतृत्वका लागि केपी शर्मा ओली र माधव नेपालले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लडेका थिए । नवौैं महाधिवेशनमा नेतृत्वमा पुग्न प्यानल बनाएर निर्वाचनमा गएका कारण पार्टीभित्र समस्या उत्पन्न भएको र त्यसैका कारण विभाजनसम्म पुगेको भन्दै अहिले विधानमै प्यानल बनाउन बन्देज लगाउने प्रस्ताव गरिएको छ । 

    नवौं महाधिवेशनपछि एमालेमा २ लाइन संघर्ष सुरू भएको थियो । त्यसैकारण देशव्यापीरूपमा पार्टी २ धारमा विभाजित भएको थियो । नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि उनले महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका नेपाल र उनको समूहलाई पेलेर पार्टीभित्र काम गर्ने वातावरण नदिएको आरोप लागेको थियो । 

    त्यति मात्र होइन, एमालेभित्र ओली समूह र नेपाल समूह स्पष्ट रूपमा देखियो । अन्ततः पार्टी विभाजन भयो । नवौं महाधिवेशनबाट निर्वाचित ५० भन्दा बढी केन्द्रीय सदस्यसहित नेपालले नेकपा एकीकृत समाजवादी गठन गरिसकेका छन् । यसबाट पाठ सिक्दै एमालेले महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचन लड्न बन्देज लगाउने व्यवस्था सहितको विधान मस्यौदा तयार पारेको छ । मस्यौदालाई विधान महाधिवेशनबाट पारित गर्ने तयारी रहेको छ । 

    विधानमा राखिएको व्यवस्था पारित भए दशौं महाधिवेशनमा नेतृत्वमा पुग्न प्यानल बनाएर चुनावमा जान पाइने छैन । यो व्यवस्थाले अब एमालेमा संगठित गुट निर्माण नहुने नेताहरुको दाबी रहेको छ ।

    नवौं महाधिवेशनपछि पार्टीभित्र उत्पन्न विवाद समाधान गर्न गत असार २७ गते १० बुँदे सहमति गरिएको थियो । सहमतिपछि बसेको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकमा नेताहरुले आफ्ना धारणा राखेका थिए । 

    १० बुँदे सहमतिपछि पार्टीको जिम्मेवारीमा फर्केका नेताहरुले विधानको मस्यौदामाथि खुलेर छलफल गरेका थिए । ‘विभिन्न बैठकमा पार्टीमा देखिएको समस्या साझा भएको र त्यसलाई गुटको धारणा बनाउन नहुने विषय पार्टी अध्यक्ष केपी शर्मा ओली नजिकका नेताहरुले राखेका थिए भने पहिला माधव नेपाल पक्षमा रहेका तर पछि उनको साथ छाडेका नेताहरुले पनि गुटगत धारणा राखेनन्,’ एक केन्द्रीय सदस्यले भनेका छन् ।

    पार्टी अध्यक्ष ओलीले पनि पटक–पटक गुटको रूपमा कसैसँग कुरा नगर्ने बताउँदै आएका छन् तर पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो आएपछि ओलीले स्थायी कमिटीको बैठक राखेर उपाध्यक्ष भीम रावलको संयोजकत्वमा कार्यदल बनाएका छन् । 

    महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, लेखराज भट्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल सदस्य रहेको कार्यदलले सहमति कार्यान्वयनको वातावरण बनाउने जिम्मेवारी पाएको छ । सहमति कार्यान्वयन भएपछि एमालेमा गुट नरहने अपेक्षा गरिएको एक नेताले बताएका छन् ।

    कार्यदलमा माओवादीबाट एमालेमा आएका नेता समेत रहेका कारण गुटबन्दी हुन नपाउने ठम्याइँ नेताहरुको छ । ‘सबैलाई मिलाउने जिम्मेवारी उपाध्यक्ष रावल कार्यदलले पाएको छ । त्यसमा सबैतिरको प्रतिनिधित्व छ,’ केन्द्रीय सदस्य विजय सुब्बाले भनेका छन् ।

    पार्टीभित्र सबै पक्षको समीक्षा हुनुपर्ने र एउटा पक्षले अर्कोलाई आरोप लगाएर फेरि विवाद उत्पन्न गराउन नहुने धारणा बलियो बन्दै गएको सुब्बाले बताएका छन् ।  

    ‘केन्द्रीय कमिटी बैठकमा केही साथीले राजनीतिक प्रतिवेदनमा पार्टी अध्यक्षको आलोचना गर्नुभयो तर उहाँहरुले गरेको विषयमा पनि समीक्षा हुनुपर्छ । पार्टीभित्र देखिएका समस्यामा सबैको कमजोरीको पक्षमा समीक्षा हुनुपर्छ । समीक्षा गुटभन्दा बाहिर गएर हुनुपर्छ,’ उनले भनेका छन् ।

    अर्का केन्द्रीय सदस्य निरज आचार्यले पार्टीभित्र अहिले गुटबन्दी बन्द भएको र विधान महाधिवेशनबाट प्यानल बनाएर निर्वाचन लड्न नपाउने व्यवस्था पारित भएपछि गुटबन्दी पूर्णत बन्द हुने बताएका छन् । ‘विधान मस्यौदामा महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचनमा जान नपाउने व्यवस्था राखिएको छ । यो पारित भएपछि प्यानल बन्दैन । नेताहरु आफ्नो व्यक्तिगत आकांक्षाअनुसार महाधिवेशनमा उम्मेदवार हुन्छन् । त्यसले कसैलाई पनि यो वा त्यो प्यानलमा लागेको भन्ने इगो जन्माउँदैन,’ आचार्यले भने ।

    एमालेले पहिलो पटक गर्न लागेको विधान महाधिवेशनले धेरै विवाद निरूपण गर्ने दावी गर्दै आचार्यले भने, ‘अहिलेको अवस्थामा पार्टीलाई कसरी एकढिक्का बनाएर लैजाने र महाधिवेशनलाई कसरी सफल बनाउने भन्नेमै ध्यान केन्द्रित हुन थालेको छ ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend