काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । महामन्त्रीको दौडमा रहेका शर्माले विभिन्न नारा, योजना र कार्यक्रम गरिरहेका छन् ।
काठमाडौंमा क्रियाशील रहेका शर्मालाई उनकै गृहजिल्लामा धक्का लागेको छ । गृहजिल्ला झापामा भएका पालिकाको अधिवेशनमा शर्माले सामान्य प्रभाव पनि देखाउन सकेनन् ।
झापाका ४ पालिकामा निर्विरोध र ११ पालिकामा मतदानबाट नयाँ कार्यसमिति चयन गरिएको छ । झापाका सबै पालिकामा कांग्रेसका पूर्व महामन्त्री तथा सभापति पदका आकांक्षी कृष्णप्रसाद सिटौला निकट नेताहरू पालिका सभापति बनेका छन् ।
पालिका सभापतिमा सिटौलाले एकलौटी कब्जा गरेपछि महाधिवेशन प्रतिनिधिमा समेत उनकै कब्जा हुने विश्लेषण गरिएको छ । महामन्त्रीका आकांक्षी शर्माले झापामै आफ्नो पक्षका महाधिवेशन प्रतिनिधि ल्याउन नसक्ने देखिएको छ । झापामा महाधिवेशन प्रतिनिधिमा सिटौलाको प्रभाव हुँदा उनीपक्षीय महामन्त्रीका उम्मेदवार गगनकुमार थापालाई फाइदा पुग्ने देखिएको छ ।
झापाको कन्काई नगरपालिकामा दुर्गाप्रसाद प्रसाईं सभापति बनेका छन् । मेची नगरपालिकामा सुदय पनेरु सभापति निर्वाचित भएका छन् ।
बिर्तामोड नगरपालिकामा भोजराज सिटौला, झापा गाउँपालिकामा साघीरथ गणेश, कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र दमक नगरपालिकामा प्रकाश प्रसाईं सभापति निर्वाचित भएका छन् ।
अर्जुनधारा नगरपालिकामा हेमराज खरेल, भद्रपुर नगरपालिकामा रामबहादुर कँडेल, बुद्ध शान्ति गाउँपालिकामा चक्र शेर्मा, गौरादह नगरपालिकामा यादवराज सेढाईं सभापति बनेका छन् ।
शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत, हल्दिबारी गाउँपालिकामा गंगा प्रसाईं, गौरीगंज गाउँपालिकामा अधनुप्रसाद राजवंशी, बाह्रदशी गाउँपालिकामा इन्दु बस्नेत सभापति बनेका छन् । कचनकवल गाउँपालिकामा तुलाराम अधिकारी सभापति बनेका छन् ।
झापाका ११ पालिका चुनाव हुँदा सिटौलानिकट सभापतिका उम्मेदवारसँग केहीमा महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मा निकटले प्रतिस्पर्धा गरेका छन् तर सबैमा पराजित भएका छन् । केहीमा सभापतिका दाबेदार डा. शेखर कोइराला निकटले प्रतिस्पर्धा गरेका थिए ।
झापामा भएको पालिका निर्वाचनले सिटौलाको पकड १३औं महाधिवेशनभन्दा समेत बलियो देखिएको छ । यसबाट महामन्त्रीका आकांक्षी गगनकुमार थापालाई फाइदा पुग्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।