काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उपमहासचिव घनश्याम भुसालको सिधा वैचारिक टक्कर परेको छ ।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा राखेको राजनीतिक प्रस्तावमा उपमहासचिव भुसालले ३ बुँदे फरक प्रस्ताव राखेका छन् । गत असोज ३ गतेको स्थायी कमिटी बैठकमा समेत भुसालले लिखित रूपमा फरक प्रस्ताव राखेका हुन् ।
केन्द्रीय कमिटी बैठकमा समेत भुसालले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा फरक प्रस्ताव राखेका जनाइएको छ । भुसालले विगतको समीक्षा, नयाँ कार्यदिशाका निम्ति ठोस प्रस्ताव र जनताको बहुदलीय जनवाद (जबज) को सैद्धान्तिक व्याख्या गरिनुपर्ने प्रस्ताव बैठकमा राखेका छन् ।
पार्टी उपमहासचिव भुसालले ओलीको राजनीतिक प्रतिवेदन एकांगी रूपमा आएको आरोप लगाएका छन् । भुसालले भनेका छन्, ‘हामीले सानोतिनो धक्का खाएका छैनौं, ठूलो धक्का खाएका छौं । पार्टी एकतादेखि विभाजनसम्म उल्लेख गरिएको प्रतिवेदन एकांगी छ ।’
पार्टी विभाजन हुनुमा सबैको कमजोरी रहेको र बढी जिम्मेवार अध्यक्ष रहेको भुसालको आरोप छ तर राजनीतिक प्रतिवेदनमा कमजोरीको पाटो छुटेको फरक मतमा उल्लेख छ ।
भुसालले भनेका छन्, ‘हाम्रै के कमजोरी भए भन्ने यो रिपोर्टमा भनेका छैनौं । जिम्मेवार पार्टीले आफ्नो कमी कमजोरी थिएन भन्ने एकांकी भएर चल्दैन । कमजोरी भएको छ । हामी सबै कमजोरीमा जिम्मेवार छौं र अध्यक्ष बढी जिम्मेवार हुनुहुन्छ ।’
एमालेको नवौं महाधिवेशनले नयाँ कार्यदिशा तय गरेपनि ठोस कार्यक्रम बन्न नसकेको भुसालको आरोप छ । ‘२०६२/६३ को क्रान्तिपछि नवौं महाधिवेशनबाट नयाँ कार्यदिशा तय गर्यौं । त्यो कार्यदिशा अनुसार ठोस कार्यक्रम पार्टीले कहिल्यै पनि बनाएन,’ उनले भनेका छन् ।
ठोस कार्यक्रम नबन्दा पार्टीले लिएको नयाँ कार्यदिशा प्रस्ट हुन नसकेको भुसालले बताए । ‘के गर्दा सफल भइने हो ? के गर्दा असफल भइन हो ? केही मानक भएन,’ उनले भने । ठोस कार्यक्रम बनाएर मात्रै एमाले अगाडि बढ्ने भुसालले बताएका छन् ।
फरक प्रस्तावमा भुसालले जनताको बहुदलीय जनवाद (जबज) जप्ने मात्रै भएको बताएका छन् । भुसालले भने, ‘जसले जप्छ, ऊ पुरस्कृत हुने र जसले लागू गर्छ त्यो चाहिँ किनारा हुने अवस्था आयो,’ उनले भनेका छन् ।
जबजलाई सिद्धान्त भने पनि त्यसको परिभाषा हुन नसक्दा समस्या आएको भुसालले जनाएका छन् । उनले भने, ‘जबज भनेकै के हो भन्ने सैद्धान्तिक परिभाषा भएको छैन । जबज सिद्धान्त त भनियो तर सिद्धान्तको परिभाषा अहिलेसम्म गरिएको छैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।