काठमाडौं – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टीलाई अब टर्च बालेर खोज्नुपर्ने भविष्यवाणी गरेका छन् ।
एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई आज शनिबार हेटौंडामा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी सुदूरपश्चिममा १ नम्बर पार्टी भएको बताएका छन् ।
अध्यक्ष नेपालले १ नम्बर प्रदेशमा पनि १ नम्बर पार्टीका रूपमा स्थापित भएको भन्दै कर्णाली प्रदेशमा समेत केपी ओलीलाई धुलो चटाइसकेको र बागमती प्रदेश र १ नम्बर प्रदेशमा पनि ओलीले धुलो चाट्नुपर्ने अवस्था आउने बताएका छन् ।
अध्यक्ष नेपालले सबैभन्दा कमजोर ठानेका गण्डकी प्रदेशमा समेत सबै जनता जागिरहेको भन्दै ओलीको पत्तासाफ हुने भविष्यवाणी गरेका छन् ।
अध्यक्ष नेपालले भने, ‘उहाँलाई लाग्यो केपी ओलीलाई चुनौती दिने कोही छैन तर हामीले चुनौती दियौं । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् । उहाँको काम नै गाली गर्ने, त्यसैमा रमाउने हो । उहाँले के ठान्नुभयो भने निष्कासन गरेपछि हामी थरथर कामौला, आँखाबाट आँसु झारौला । ओलीको चाकडी गरौला । के हामी त्यही किसिमको मान्छै हौं ? हामी विद्रोही हौं । सही र गलतलाई छुट्याउने योद्धाहरू हौं ।’
अध्यक्ष नेपालले एकीकृत समाजवादीका विरोधीले समाजवादीले जबज नमानेको भन्दै गलत प्रचार गरेकाले भ्रममा नपर्न आग्रह गरेका छन् । एकीकृत समाजवादीले सबै विचार बोकेको बताउँदै अध्यक्ष नेपालले माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्तलाई आत्मसात गरेको बताएका छन् ।
अध्यक्ष नेपालले देशभर एकीकृत समाजवादीको लहर आइरहेको दाबी समेत गरेका छन् । देशभर समाजवादीको संगठन निर्माणको कामहरू भइरहेको उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।