काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा आज सोमवार सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
यसअघि मुद्दा पटक–पटक ‘हेर्न नभ्याइने’मा पर्र्दै आएको थियो ।
एमालेको सिफारिसअनुसार १४ सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तिनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै एमालेले सर्वाेच्चमा मुद्दा दिएको हो ।
एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाए पनि सभामुखले अगाडि बढाएनन् ।
संसद सचिवालयले सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँसेको थियो ।
कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले सांसदको रूपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गर्दै आएको छ ।
सर्वाेच्च अदालतले ओलीको मागअनुसार अन्तरिम आदेश दिएमा नेकपा एकीकृत समाजवादी (एस) पार्टीका सांसदहरु माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुन पदमुक्त हुनेछन् ।
सर्वाेच्चले हेर्दाहेर्दैमा राखेको मुद्दा अब निरन्तर सुनुवाइ हुने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।