काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नयाँ मन्त्री नियुक्त हुने मिति तोकेका छन् ।
आज शनिवार जनकपुरधाममा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा प्रचण्डले असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने दाबी गरे ।
प्राविधिक कारणले सरकारलाई पूर्णता दिन ढिलाइ भइरहेको स्वीकार गर्दै उनले अब चाँडै नै मन्त्रिमण्डल विस्तार गरेर सरकारलाई पूर्णता दिइने जानकारी दिए ।
अध्यक्ष प्रचण्डले परिमार्जन विना एमसीसी सम्झौता पास गर्न नमिल्ने समेत बताए । पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरू बिगारिएकाले यसलाई विना परिमार्जन पारित गर्न नमिल्ने प्रचण्डले बताए ।
‘यसअघि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेको बेला एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गर्नुपर्छ भन्ने कुनै प्रावधान थिएन तर पछि केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधि सभाबाट पारित गर्नुपर्ने विषय आएपछि मात्रै एमसीसीको विवाद सिर्जना भएको थियो,’ उनले भने ।
अध्यक्ष प्रचण्डले अमेरिकी संसदमा एमसीसी इण्डो प्यासिफिक रणनितिको अंग हो भन्ने विषय चर्चामा आएपछि विवाद झन् चर्किएको बताएका छन् ।
उनले गलत विषयहरूलाई संशोधन र परिमार्जन नगरेसम्म एमसीसी पारित नहुने स्पष्ट पारे । पैसा र विकास चाहिएकाले एमसीसी सम्झौता परिमार्जनपछि प्रतिनिधि सभाबाट पारित गराउन तयार रहेको प्रचण्डले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।