काठमाडौं - वामदेव गौतमलाई हक्की र निडर नेताका रूपमा लिइन्छ । २०५४ सालमै उनले एमाले विभाजन गरेका थिए । त्यसबेला उनले झन्डै एमालेको आधा हिस्सा नै लिएर माले गठन गरेका थिए ।
तर, ०५६ सालको निर्वाचनमा मालेले एउटा पनि सांसद जित्न सकेन । ०५४ को स्थानीय तहको निर्वाचनमा एमालेलाई झन्डै ७६ प्रतिशत ठाउँमा जिताउन सफल वामदेव त्यसबेला हाईहाई थिए । तर, पछि उनी पार्टी फोडेपछि गद्दार घोषित भए ।
केपी ओली, माधव नेपालको निर्देशनमा प्रदीप नेपालले खुलामञ्चमै वामदेवलाई एक नम्बरको भ्रष्टाचारी भनेर घोषणा गरे । कालान्तरमा वामदेव उपप्रधानमन्त्रीसहित गृहमन्त्री हुँदा तिनै प्रदीप नेपाल उनको राजनीतिक सल्लाहकार बने ।
मालेबाट एमाले भए पनि वामदेवको शक्ति भने घटेन । रवीन्द्र अधिकारी, योगेश भट्टराई, सीपी मैनाली जस्ता नेताहरूका कारण उनको पोजिसन बलियो नै थियो । तर, पनि सीपीले वामदेव छाडे र माले नै पुनर्गठन गरे ।
अहिले आएर वामदेवले फेरि एमाले छाडे । अहिले एमाले छाड्नुको भित्री कारण भने अब उनले कार्यकारी पद नपाउनु नै मुख्य कारण हो । उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा गए पनि कार्यकारी अधिकार भने लिन सक्दैनन् ।
एमालेको विधानअनुसार ७० वर्षसम्म कार्यकारी पदमा दाबी गर्न मिल्छ । वामदेव ७२ वर्ष पुगिसकेका छन् । अबको महाधिवेशनमा कार्यकारीमा दाबी गर्न नमिल्ने भएकाले पनि उनले एमाले छाडेको धेरैको बुझाई छ ।
त्यही भएर एमाले अध्यक्ष केपी ओलीले गत वर्ष नै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग आफ्नो कलह हुँदा वामदेवको प्रयोजन सकिएको घोषणा गरेका थिए ।
त्यसबेला वामदेवले दह्रो खुट्टा टेकेको भए ओली नेकपाको अध्यक्षबाट हट्थे । प्रचण्ड र माधव नेपालको हातमा नेकपा पुग्थ्यो । तर, वामदेवले कहिले ओलीलाई कहिले प्रचण्डलाई साथ दिने गर्दा उनी ढुलमुलेवादी बने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।