आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सत्तारुढ गठबन्धनभित्र यस्तो छ मन्त्रालयको ‘बार्गेनिङ’

सत्तारुढ गठबन्धनभित्र यस्तो छ मन्त्रालयको ‘बार्गेनिङ’

  • मिडिया डबली
  • बुधवार, भाद्र ३० २०७८

  • 7.4K
    SHARES

  • सत्तारुढ गठबन्धनभित्र यस्तो छ मन्त्रालयको ‘बार्गेनिङ’

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री नियुक्त भएको ६० दिन भएको छ । असार २९ गते गठन भएको सरकार २ महिना बित्दा पनि ५ मन्त्रीकै भरमा चल्दै आइरहेको छ ।

    सत्ता गठबन्धन भित्रको किचलो र आन्तरिक व्यवस्थापनमा देखिएको चुनौतीपछि असार २९ गते सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले २ महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

    प्रधानमन्त्री देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपालको तत्कालीन एमालेको समूह र राष्ट्रिय जनमोर्चाको सहयोगमा प्रधानमन्त्री बनेका थिए ।

    ५ दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवाले २ महिनासम्म पनि ५ जना नै मन्त्रीका भरमा सरकार चलाइरहेका छन् । त्यसमा पनि १ जना राज्यमन्त्री छन् । प्रधानमन्त्रीसहित गर्दा सरकार ६ सदस्यीय मात्रै रहेको छ ।

    मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको आलोचना दिनदिनै बढ्दो छ । प्रधानमन्त्री देउवाले सरकारको आलोचना बढेको भन्दै गठबन्धन आवद्ध दलबाट मन्त्रीका लागि नाम पठाउन पटक–पटक शीर्ष नेताहरुलाई आग्रह समेत गर्दै आएका छन् ।

    देउवाले गत बिहीवारबाट निरन्तरजसो गठबन्धन बैठकमा मन्त्रीको सूची दिन नेताहरुलाई आग्रह गरिरहेका छन् ।

    मंगलवार समेत प्रधानमन्त्री देउवाले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई सरकार विस्तारबारे छलफल गर्न भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्न पठाएका थिए । खड्काले प्रचण्डसँग माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गरेका थिए ।

    ‘प्रधानमन्त्रीले मन्त्रीका लागि गठबन्धन आबद्ध दलका नेताहरुसँग पटक–पटक नाम मागिसक्नुभयो, उहाँहरु आफ्नो आन्तरिक किचलो र व्यवस्थापनको विषयलाई सरकारमा जोडेर नाम दिन ढिला गरिरहनुभएको छ,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने ।

    तर गठबन्धनआवद्ध माधवकुमार नेपालको दल नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादवको दल जसपाले मन्त्रीका आकांक्षी धेरै भएको र संख्या समेत बढ्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिँदै आएका छन् ।

    ‘माधवजी र उपेन्द्रजीहरुको माग अलि बढी छ, उहाँहरुमा नै समस्या भएको छ, उपप्रधानमन्त्रीमा पनि बार्गेनिङ भइरहेको छ,’ एक नेताले भने ।

    स्रोतका अनुसार नेकपा एस र जसपाले कांग्रेस र माओवादी केन्द्रको बराबर संख्यामा मन्त्री मागिरहेका छन् तर संविधानले नै मन्त्रीको संख्या २५ भन्दा बढाउन नपाइने गरेर निर्धारण गरेकाले उनीहरुको माग पूरा गर्न प्रधानमन्त्री सक्ने अवस्थामा छैनन् ।

    जसपा अध्यक्ष यादवको बार्गेनिङ उपप्रधानमन्त्रीमा समेत छ तर प्रधानमन्त्री देउवा यसपटक मन्त्रिमण्डलमा उपप्रधानमन्त्री राख्ने सोचमा देखिएका छैनन् ।

    प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री राख्दा आफ्नै दलभित्रको गुटलाई पनि मिलाउन सकस पर्नेछ । माओवादी केन्द्रबाट पनि उपप्रधान सहितको मन्त्री राख्नुपर्ने अवस्था आउँछ । त्यसो गर्दा सरकारमा ४ जनाभन्दा बढी उपप्रधानमन्त्री राख्नुपर्ने र त्यसो गर्न देउवाले चाहेका छैनन् ।

    हाल सरकारमा प्रधानमन्त्रीसहित कांग्रेसबाट गृह र कानूनमा फूल मन्त्री छन् । स्वास्थ्यमा १ राज्यमन्त्री समेत कांग्रेसबाट सरकारमा ४ जनाको सहभागिता छ ।

    माओवादी केन्द्रबाट सरकारमा अर्थ र ऊर्जामन्त्री सहभागी रहेका छन् । अब भने संख्या पहिले टुंगिएपछि कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा पनि दलहरुबीच विवाद हुने अवस्था देखिएको छ ।

    जसपाले भौतिक र परराष्ट्र मन्त्रालय चाहिरहेको छ भने माधवकुमार नेपालको दलले स्वास्थ्य र उद्योगसहित शक्तिशाली मन्त्रालयमा नजर लाइरहेको छ । अन्य प्रभाव राख्ने मन्त्रालयमा पनि गठबन्धन आवद्ध दलको नजर परिरहेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend