काठमाडौं - सत्तारुढ गठबन्धनमा आबद्ध पाँच दलले प्रदेश १ र बागमती प्रदेशमा पनि नयाँ सरकार गठन प्रक्रिया सुरु गरेका छन् । यसको गृहकार्य आइतबारदेखि सुरु भएको हो ।
बागमती प्रदेशमा एमाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकारलाई आफ्नो दलको समर्थन नरहेको भन्दै एकीकृत समाजवादीले स्पष्ट पारिसकेको छ ।
एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेले शाक्य सरकारलाई समर्थन नरहेको जनाएपछि अब मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्ने हुन्छ ।
किनभने उनी एमालेमा बहुमत हुँदा दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । संविधानमा सरकारको नेतृत्व गरेको दल विभाजन भएमा प्रधानमन्त्री वा प्रदेश मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने उल्लेख छ ।
मुख्यमन्त्री शाक्य अहिले स्पष्ट अल्पमतमा परेकी छन् । बागमतीमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ र एकीकृत समाजवादीका राजेन्द्र पाण्डेमध्ये एक मुख्यमन्त्री बन्ने भएका छन् ।
प्रदेश १ मा सोमबारदेखि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । एकीकृत समाजवादीले संसदीय दलको नेता राजेन्द्र राईलाई चयन गरेपछि मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको भन्दै प्रदेश सभामा पत्र दर्ता गरिएको छ ।
यसबाट आचार्य नेतृत्वको सरकार पनि अल्पमतमा परेको छ । अब प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीलाई कि त विश्वासको मत लिनुपर्ने कि त राजीनामा दिनुपर्ने बाध्यता छ । आचार्य र शाक्य दुवै एमालेबाट मुख्यमन्त्री भएका हुन् ।
पाँचदलीय गठबन्धनले एमालेलाई केन्द्र र प्रदेश सरकारको नेतृत्व गर्नै नदिने रणनीति अख्तियार गर्दै अघि बढेका थिए । केन्द्रबाट केपी ओली विस्थापित भइसकेका छन् ।
गण्डकी र लुम्बिनी प्रदेशबाट क्रमशः पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेल सत्ताच्यूत भएका छन् । अब प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री आचार्य र शाक्यलाई दशैंसमेत नपाउने गरी त्यसअघि नै हटाउने तयारी भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।