काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मनपरीका कारण पार्टी विभाजन भएपछि एकपछि अर्काे धक्का लाग्दै आएको छ । केन्द्र सरकारसँगै लुम्बिनी, गण्डकी प्रदेश सरकार गुमाइसकेको एमालेलाई अर्काे धक्का लाग्दैछ ।
एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी (एस) पार्टी बागमती प्रदेशले एमाले नेतृत्वको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकारलाई समर्थन नरहेको घोषणा गरेको छ ।
नेकपा एसले आईतबार संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ । दल आधिकारिकता पाएसँगै आईतवार बसेको बैठकले पाण्डेलाई दलको नेता चयन गरेको छ ।
दलको पहिलो बैठकमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका १३ सांसदको सहभागिता रहेको थियो ।
एस पार्टीको बैठकले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई पार्टीको समर्थन नभएको निर्णय समेत गरेको दलका नेता पाण्डेले बताएका छन् ।
नेता पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व आफूले नै गर्ने दाबी गरेका छन् । केन्द्रीय स्तरमा शीर्ष नेताबीच प्रदेश १ र बाग्मती प्रदेश सरकारको नेतृत्व नेकपा एस लाई दिने समझदारी भएको दाबी उनले गरेका छन् ।
‘पार्टीको निर्णय अनुसार अगाडि बढ्ने कुरा भएको हुँदा बाग्मती प्रदेश सरकारको नेतृत्व हामीले नै गर्नेछौं,’ नेता पाण्डेले भनेका छन् ।
बागमती प्रदेशमा अब दलको संख्या ७ पुगेको छ । प्रदेश सभामा एमाले पार्टी ४३ सांसदका साथ पहिलो, २३ सांसदका साथ नेकपा माओवादी केन्द्र दोस्रो, २२ सांसद्का साथ नेपाली कांग्रेस तेस्रो, १३ सांसद सहितको नेकपा एस चौथो दल बनेका छन् । ३ सांसदको विवेकशील साझा पार्टी पाँचौं, २/२ सांसद रहेका राप्रपा र नेमकिपाका क्रमशः छैठौं र सातौं स्थानमा रहेका छन् । प्रदेश सभामा १ स्वतन्त्र सांसद समेत छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।