काठमाडौं – नेकपा एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने १० बुँदे सहमति गरेर अध्यक्ष केपी शर्मा ओलीसँगै मिल्न आएका उपाध्यक्ष भीम रावल अहिले पछुताएका छन् ।
पार्टीमा १० बुँदे सहमति कार्यान्वयन गरेर विभाजन रोक्नुपर्ने पक्षमा वकालत गरेका उपाध्यक्ष रावल नै अहिले पछुताएका छन् । पछुताउने कारण बनेको छ, भीम रावलको सुदूरपश्चिम इन्चार्जको पद ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाउन नसकिने स्पष्ट जवाफ दिएका छन् । उपाध्यक्ष रावल माधवकुमार नेपाल गुटमा लागेका बेला माओवादी केन्द्र छाडेर एमालेमा आएका लेखराज भट्टलाई एमाले सुदूरपश्चिम इन्चार्ज बनाइएको थियो । उपाध्यक्ष रावल ओलीकै पक्षमा आउँदा समेत ओलीले रावलको प्रदेश इन्चार्ज पद खाइदिएका छन् ।
आईतवार बिहान अध्यक्ष ओलीनिवास बालकोटमा भएको एमाले शीर्ष नेताहरूबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने बताएका छन् ।
एमाले जेठ २ गते फर्कने १० बुँदे सम्झौता कार्यान्वयन गर्दा एमालेको सुदूरपश्चिम इन्चार्ज उपाध्यक्ष समेत रहेका भीम रावल हुनुपर्ने भए पनि अध्यक्ष ओलीले लेखराज भट्टले नै इन्चार्जको जिम्मेवारी सम्हाल्ने र रावललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न निर्देशन दिएका छन् ।
माओवादीबाट आएका भट्ट गत फागुन २३ गतेपछि एमाले सुदूरपश्चिमको इन्चार्ज तोकिएका थिए । त्यसबेला रावल माधव नेपाल गुटमा सक्रिय थिए । माधव नेपाल सहितका नेताहरूले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्दा रावल पुनः ओलीसँगै आएका हुन् । १० बुँदे कार्यदलका संयोजक समेत रहेका रावल पार्टी जेठ २ गते फर्कने भन्ने सहमतिपछि सुदूरपश्चिमको इन्चार्ज पनि स्वतः आफैं हुनुपर्ने पक्षमा अडान राखेका थिए ।
सुदूरपश्चिम इन्चार्जमा रावल र भट्टबीच विवाद भएपछि आईतवार बिहान अध्यक्ष ओलीले उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ र सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई बालकोटमा बोलाएर छलफल गरेका थिए ।
छलफलमा ओलीले रावललाई भने, ‘कार्यविभाजन यथावत नै छ । जिम्मेवारी परिवर्तन भएको छैन । तपाईं उपाध्यक्ष र सहजीकरणको जिम्मेवारी निर्वाह गर्नुस् ।’
छलफलमा भीम रावलले पार्टी जेठ २ गतेमा फर्केपछि पुनः आफूले नै सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने अडान ओलीसमक्ष राखेका थिए । रावलले भनेका छन्, ‘पार्टी जेठ २ गते फर्कने भनेपछि त्यही अनुसार अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो ।’
जवाफमा ओलीले भने, ‘हिजोको नेकपा एमाले, नेकपा अनि अहिलेको नेकपा एमालेको अस्तित्व छ, त्यहाँ कमिटी छन् र जिम्मेवारी तोकिएका छन्, त्यसैले जिम्मेवारी पनि त्यसैअनुरूप नै हुन्छ । नेकपा एमालेले जुन कार्यविभाजन गरेर जिम्मेवारी तोकेको छ, त्यो यथावत रहन्छ ।’
नेकपा एमालेले १० बुँदे कार्यान्वयनका सन्र्दभमा सहजीकरण गर्न सुदूरपश्चिममा नेता रावल, भट्ट र कर्ण थापालाई जिम्मेवारी दिएको छ । प्रदेश अध्यक्ष थापाले प्रदेश कमिटीको अध्यक्ष आफू र प्रदेश इन्चार्ज लेखराज भट्ट नै भएको दाबी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।