काठमाडौं – नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्तारुढ दलहरुबीचको सहमतिमा एमसीसीलाई अघि बढाउन सकिने वचन दिएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसँग बिहीवार सिंहदरबारमा भएको भेटमा सत्तारुढ दलबीच सहमति गरेर मात्रै एमसीसीलाई अघि बढाउन सकिने बताए ।
अध्यक्ष नेपालले नेपाली जनतालाई कन्भिन्स गराएर मात्रै सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको समेत बताए । फातिमाले एमसीसी कुनै सैन्य रणनीति अन्तर्गतको कार्यक्रम नभएको भन्दै अध्यक्ष नेपाललाई आश्वस्त बनाउन खोजेकी छन् ।
अध्यक्ष नेपालले एमसीसीबारे भ्रमपूर्ण सन्देश दिने काम स्वयं अमेरिका सरकारबाट भएको समेत बताएको भेटमा सहभागी नेकपा एकीकृत समाजवादीका कार्यालय सचिव डा. गंगालाल तुलाधरले बताए ।
‘राष्ट्रहितभन्दा बाहिर गएर सम्झौता अघि बढ्न सक्दैन भन्ने कुरामा हामी दृढ छौं । हामी कमसेकम पनि ५ पार्टीको बीचमा सहमति बनाएर यो कुरा गर्ने कि नगर्ने निर्णयमा पुग्छौं । राजनीतिक दलहरु जो सरकारमा सामेल छन्, ती सबै राजनीतिक दलहरुको कन्सर्नको कुरा हो । त्यसैले हामीहरु आफू पनि छलफल गरेर सहमतिमा अघि बढ्छौं,’ उनले भने ।
करीब डेढ घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले एमसीसी दबाब दिएर पारित गराउने पक्षमा नरहेको बताएको तुलाधरले जानकारी दिए ।
यसअघि सुमारले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।