काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वडाको चुनाव लड्न गाह्रो हुने स्थिति आएको बताएका छन् ।
शहीद सुरेश वाग्ले र भीमसेन पोखरलेको २२औं स्मृति दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले खर्चिलो निर्वाचन प्रणालीले वडामा नेता कार्यकर्तालाई चुनाव लड्न गाह्रो हुने स्थिति देखिएको बताए ।
प्रचण्डले भने, ‘वडाको चुनाव लड्न गाह्रो हुने स्थिति आउँदैछ । प्रदेशमा २–४ करोड, संघमा १०–१५ करोड खर्च गर्नुपर्ने अवस्था देखिएको छ । पुँजीपति र पैसा भएकाबाहेक श्रमजीवी नेता/कार्यकर्ताले चुनाव लड्न सक्ने स्थिति छैन ।’
अहिलेको निर्वाचन प्रणालीले गाह्रो हुने स्थिति आउन सक्ने भन्दै उनले यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । ‘नयाँ आन्दोलन र विद्रोह चाहिएको छ । फोहर पनि सफा होस्, फटाहालाई पनि परास्त गर्न सकियोस्,’ प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले अहिले गठबन्धन तोड्ने षडयन्त्र देश र विदेशी शक्तिबाट भइरहेको बताएका छन् । ‘प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धनलाई विभाजन कसरी गर्ने, एमसीसी भनेर ल्याइदिएर फुटाउन सकिन्छ भनेर होस् वा अन्य हिसाबले काम भइरहेको छ,’ प्रचण्डले भने, ‘अहिलेकै स्थितिमा एमसीसी पारित हुन सक्दैन भनेर हामीले भनिसकेका छौं ।’
प्रचण्डले देशलाई क्षति नहुने हिसाबले एमसीसी अघि बढोस् भन्ने आफूहरूको धारणा रहेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।