काठमाडौं – नेकपा एमाले विभाजित भइसक्दा समेत उपाध्यक्ष बामदेव गौतमले आफ्नो कित्ता स्पष्ट पार्न सकेका छैनन् । नेता माधवकुमार नेपालले पार्टी विभाजन गरेमा आफ्नो साथ रहने बताउँदै आएका उपाध्यक्ष गौतम न नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीतिर लागेका छन्, न त एमालेकै बैठकमा आउने गरेका छन् ।
पार्टी एकताको रटान लगाउँदै आएका उपाध्यक्ष गौतम न यता, न उता भएका छन् । गौतमकै ढुलमुले पाराका कारण उनकी पत्नी तुलसा थापाको सांसद पद धरापमा पर्ने देखिएको छ । नयाँ पार्टीमा जाने निर्णय ढिलो गरेका सांसद थापासहित ४ जनाको पद धरापमा परेको हो ।
एमाले विभाजनका लागि निवेदन दर्ता गर्ने समयमा हस्ताक्षर नगरेका सांसदहरूलाई निर्वाचन आयोगले सनाखतमा मान्यता नदिएकाले एमालेमै रहनुपर्ने वा अध्यक्ष केपी शर्मा ओलीले कारवाही प्रक्रिया अगाडि बढाउनसक्ने देखिएको छ ।
नेता माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिने बेला हस्ताक्षर नगरेका संघीय सांसदहरू सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ८ गते एकीकृत समाजवादीमै सनाखत गर्न पाउनुपर्ने माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए तर आयोगले निवेदन अस्वीकार गरिदिएको छ ।
प्रारम्भिक चरणमै नेपाल पक्षमा नलागेर पछि मात्रै निवेदन दिएका ४ सांसदमध्ये पाण्डे प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ज्ञवाली र थापा समानुपातिक सांसद रहेका छन् । भट्ट राष्ट्रियसभा सांसद रहेकी छन् ।
निर्वाचन आयोगले ढिला गरी परेको निवेदनमा सनाखत नगर्ने निर्णय गरेपछि बुधवार आयोगका पदाधिकारी र एकीकृत समाजवादी पार्टीका नेताहरूबीच केहीबेर गर्मागर्मी बहस समेत भएको थियो । अन्ततः आयोगले सनाखतमा सहभागी नगर्ने निर्णय सुनाएको थियो ।
निर्वाचन आयोगले सनाखतमा मान्यता नदिएपछि अब सांसद पद जोगाउन केपी ओली नेतृत्वको एमालेमै बस्नुपर्ने बाध्यता देखिएको छ । अब माधव नेपालको पार्टीमा गएको खण्डमा सांसद पद गुम्ने निश्चित देखिएको छ ।
नेकपा एमालेले बिहीवार बस्ने केन्द्रीय कमिटीको बैठकबाट यी ४ जना सांसदसहित माधव नेपालको पक्षमा लागेका सबै सांसदहरूलाई प्रक्रिया पुर्याएर कारवाही गर्ने एमाले स्रोतले जनाएको छ ।
नयाँ दलले मान्यता पाएका कारण माधव नेपालको पक्षमा सुरूमै लागेका ३० सांसदको पद जोगिएको छ । नयाँ पार्टीमा मान्यता पाएका सांसदलाई अब ओलीले कारवाही गर्न पाउने छैनन् ।
एमालेले कारवाही गरेका भनिएका माधव नेपालसहित १४ सांसदलाई समेत आयोगले मान्यता दिएकाले सांसद पद जोगिएको छ ।
निर्वाचन आयोगले नेपाल पक्षका थप ३ जना केन्द्रीय सदस्यको पनि सनाखत गर्न नमानेको नेपाल पक्षका एक नेताले जानकारी दिए । केन्द्रीय सदस्यहरू रामप्रित पासवान, विक्रम शाही र राजन राईलाई आयोगले सनाखत गरेन । तर सनाखत नभएपनि एकीकृत समाजवादी पार्टीमा पछि मनोनयन गर्न सकिने जनाइएको छ ।
सनाखत नभएका सांसद सोमप्रसाद पाण्डेय समेत केन्द्रीय सदस्य रहेकाले उनको सांसद पद गुम्यो भने पनि पार्टीको केन्द्रीय कमिटीमा मनोनयन हुनसक्ने अवस्था भने रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।