काठमाडौं – प्रतिनिधिसभा संसदभित्र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने दलको संख्या बढेर ६ पुगेको छ ।
बुधबार निर्वाचन आयोगमा दर्ता भएका २ नयाँ दलले समेत नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई समर्थन गर्ने भएपछि समर्थन गर्ने दलको संख्या बढेको हो ।
नेकपा एमालेबाट विभाजित भएका नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र जसपाबाट विभाजित भएका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समेत देउवालाई समर्थन गरेका छन् । निर्वाचन आयोगले दुबै दललाई बुधबार मान्यता दिएको छ ।
यसअघिदेखि नै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाले देउवा सरकारलाई समर्थन गर्दै आएका थिए ।
देउवा सरकारले सांसद वा केन्द्रीय समितिको २० प्रतिशत समर्थनमा दल फुटाउन सक्ने गरी अध्यादेश ल्याएपछि २ नयाँ दल जन्मिएका छन् ।
नेता नेपाल एमालेमा रहँदा जुनसुकै बेला पनि सरकारको बहुमत गुम्न सक्ने खतरा रहेपनि अब दल विभाजित भएपछि प्रधानमन्त्री देउवा ढुक्क भएका छन् । अब अध्यक्ष माधवकुमार नेपाल खुलेरै प्रधानमन्त्री देउवाको पक्षमा लाग्न पाउने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।