काठमाडौं – नेकपा एमालेभित्र लामो समयदेखि जारी विवाद अन्ततः विभाजनमा पुगेर टुंगिएको छ । अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारबाट रुष्ट रहेका नेता माधवकुमार नेपालले आफ्नो ‘पावर’ देखाएरै छाडेका छन् ।
प्रस्तावित अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादीको पक्षमा साविकको एमाले केन्द्रीय कमिटीका ५५ सदस्य र संघीय संसदका ३० सांसदको हस्ताक्षर निर्वाचन आयोगमा सनाखत गराउन सफल भएका छन् ।
एमालेका ३० सांसदबाहेक अन्य ४ सांसदले समेत माधव नेपालको पक्षमा लाग्ने खोजेपनि सनाखत भएन । दल दर्ताको निवेदनमा हस्ताक्षर नभएका कारण आयोगले बुधबार सनाखत गर्न अस्वीकार गरेको छ ।
एमाले अन्ततः विभाजित हुने भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुसी भएका छन् । प्रचण्डले एमालेलाई विभाजित गर्न लामो समयदेखि प्रयास गरिरहेका थिए । एमाले विवाद समाधानका लागि कार्यदलले काम गरिरहँदा प्रचण्डले दिनदिनै नेपाल निवास कोटेश्वर पुगेर भेट्ने गरेका थिए ।
नेकपा एमालेबाट विभाजित भई नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ताका लागि नेता माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए ।
बुधबार केन्द्रीय सदस्य र सांसदको सनाखत सकेर बुधबारै दल दर्ताको निर्णय हुने अपेक्षा नेपाल पक्षको थियो । तर निर्वाचन आयोगले निर्णय दिन ढिलाइ गरिरहेको छ ।
बुधबार दिउँसो एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएको लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत गरेका निर्वाचन आयोगका पदाधिकारी रातिसम्मै आयोगमै छलफलमा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।