काठमाडौं – प्रधानमन्त्रीबाट हटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पेलानमा पर्न थालेका छन् । पछिल्लोपटक सभामुख अग्निप्रसाद सापकोटाले अध्यक्ष ओलीलाई राम्रैसँग पेलेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन गर्न सहज हुने अध्यादेश ल्याएपछि अध्यक्ष ओलीले नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्राचार गरेका थिए । तर सभामुख सापकोटा ओलीले पेलेर कारवाही प्रक्रिया अगाडि बढाएनन् ।
सांसदलाई पदमुक्त गरिएको कारवाहीको सूचना टाँस्न दबाब दिन ओली पक्षका नेताहरूले सभामुख सापकोटालाई भेटेका थिए । तर सापकोटाले दबाबलाई मानेनन् र ओलीलाई पेलेरै छाडे ।
एमाले पार्टी विभाजन प्रयोजनका लागि निर्वाचन आयोगले संसद सचिवालयसँग एमालेका सांसदको विवरण मागेको थियो । संसद सचिवालयले नेता माधवकुमार नेपालसहित सांसदको विवरण निर्वाचन आयोगमा पठाएको छ । अब एमाले पार्टी विभाजन गर्दा समेत नेता नेपालसहित सांसदको पद जोगिने निश्चित भएको छ ।
निर्वाचन आयोगले संसदमा पठाएको पत्रमा विभाजित भएर गठन हुने नयाँ दलमा २० प्रतिशत सांसद पुग्ने/नपुग्नेबारे सोधेको थियो । तर सचिवालयले सांसद संख्या गणना गर्ने क्षेत्राधिकार सचिवालयको नभएको जवाफ पठाएको छ । नेपाल सहितका नेताको पद सुरक्षित हुने गरी सचिवालयले सबै सांसदको विवरण आयोगमा पठाएको छ ।
एमालेबाट नेता माधवकुमार नेपाल पक्ष विभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर पक्ष विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठनका लागि आयोगमा निवेदन दर्ता गराएको छ ।
निर्वाचन आयोगले नयाँ गठन हुने दुबै दलका सांसद र केन्द्रीय सदस्यलाई सनाखतका लागि भोलि बुधवार बोलाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।