काठमाडौं – वरिष्ठ नेता माधवकुमार नेपालसँग पार्टी विभाजनमा नगएका उनी पक्षधर तेस्रो धारका नेताहरु एमालेमै रहने भएका छन् ।
कार्यदलमा भएको १० बँुंदे सहमतिको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने अध्यक्ष केपी ओलीको प्रतिबद्धतापछि तेस्रो धारका नेताहरु एमालेमै रहने निर्णयमा पुगेका छन् ।
१० बुँदे सहमति कार्यान्वयनको समयसीमाको मोडेल बनाउन उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मेवारी तोकिएको छ ।
पार्टी एकताका पक्षमा उभिएका तेस्रो धारका नेता र ओलीबीच सोमवार छलफल भएको थियो । वरिष्ठ नेता नेपालले नेकपा एकीकृत समाजवादी पार्टी निर्माण प्रक्रिया अघि बढाएपछि उनी पक्षधर नेताहरुले तेस्रो धारका रूपमा आफूहरुलाई उभ्याएका थिए ।
अध्यक्ष ओली र तेस्रो धारका नेताबीचको छलफलले १० बुँदे सहमतिलाई इमान्दारीपूर्वक समयसीमासहित कार्यान्वयन गर्ने, मंगलवार बस्ने स्थायी कमिटी बैठकमा सहभागी हुने र विभाजनमा गएका नेता नेपाललाई पार्टी एकताका लागि आह्वान गर्ने सहमति जुटेको नेताहरूले बताएका छन् ।
सर्वोच्चको फैसलाअनुसार एमाले बिउँतिएपछि पहिलो पटक तेस्रोधारका मध्यमार्गी नेता बैठकमा जाने निर्णयमा पुगेका छन् । मध्यमार्गी नेताको सहमतिमा नै मंगलवार स्थायी समितिको बैठक बोलाइएको छ ।
नेता माधवकुमार नेपाल र मुकुन्द न्यौपानेबाहेक सबै स्थायी समिति सदस्य बैठकमा उपस्थित हुने एमालेले जनाएको छ । नवौं महाधिवेशनबाट निर्वाचित २६ सदस्यीय स्थायी कमिटी रहेको छ ।
२०७७ फागुन २३ गते एमाले ब्युँतिएपछि नेपाल पक्षधर स्थायी समिति सदस्य कुनै पनि बैठकमा उपस्थित भएका थिएनन् । झलनाथ खनाल उपचारको लागि दिल्लीमा रहेका छन् । उपाध्यक्ष बामदेव गौतम फाटफुट बैठकमा जाने गरेका छन् ।
अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तले सोमवार लामो छलफल गरेका थिए । छलफलमा सचिव प्रदीप ज्ञवाली पनि सहभागी रहेका थिए ।
एमाले एकता जोगाउन लामो समयदेखि क्रियाशील रहेका दोस्रो तहका नेतासँग अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन गरी पार्टी एकताबद्ध बनाउन आफू इमान्दार रहने विश्वास दिलाएका थिए । माधव पक्षबाट पार्टी विवाद समाधानका लागि गठित कार्यदलमा रहेका र स्थायी समिति सदस्यसँग पछिल्लो समयमा तेस्रो धारका रुपमा आएको समूहमा ५७ केन्द्रीय सदस्य र सांसद रहेका छन् ।
‘हामीले एमाले जोगाउन अध्यक्षको ध्यानाकर्षण गरायौं, अध्यक्षले सकारात्मक रुपमा लिनुभयो, सचिव योगेश भट्टराईले भने, ‘पार्टीमा सबैलाई समान व्यवहार गर्ने, पुराना सबै जिम्मेवारी दिनेमा प्रतिबद्धता जनाउनुभयो ।’
१० बुँदे सहमति कार्यान्वयन प्रक्रिया अगाडि बढाउन स्थायी कमिटीको बैठकले ठोस मोडालिटी बनाउने पार्टी सचिव भट्टराईले बताएका छन् । २०७५ जेठ २ गतेअघिकै अवस्थामा सबै तह केन्द्र, प्रदेश, जिल्ला, स्थानीय तह, वडासम्म नै क्रियाशील हुनेछन् । ‘स्थायी कमिटीले तिथिमिति सहितको कार्ययोजना अगाडि सार्छ र केन्द्रीय कमिटीले थप परिस्कृत गरेर त्यसलाई कार्यान्वयनमा लैजान्छ,’ उनले भनेका छन् । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक समेत बोलाउने छ ।
सचिव भट्टराईले २०७५ जेठ २ गते नेताहरुको जुन जिम्मेवारी थियो, यथावत रहने सहमति भएको बताएका छन् ।
निर्वाचन आयोगमा नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन परिसकेको छ । आयोगले सनाखतका लागि बुधवार केन्द्रीय सदस्यहरुलाई बोलाइसकेको छ । यो प्रक्रिया रोक्न अन्तिम पहलकदमीमा तेस्रोधार नेता लागेका छन् ।
नयाँ दल दर्ताको प्रक्रिया रोकेमा माधव नेपालसहित १४ जना सांसदमाथि कारबाही फिर्ता गराउन अध्यक्ष ओलीलाई उनीहरुले सहमत गराएका छन् ।
नेपाल पक्षले आफ्ना केन्द्रीय सदस्यहरुलाई सोमवार साँझ चन्द्रागिरी हिल्समा लगेको छ । आफ्ना केन्द्रीय सदस्यमाथि संस्थापन र तेस्रोधार नेताको प्रभाव र प्रलोभन पर्न सक्ने देखेर चन्द्रागिरी लगेको आरोप छ । केन्द्रीय सदस्यहरुलाई बुधबार हिल्सबाट सिधै निर्वाचन आयोगमा सनाखतमा ल्याउने उनीहरुको योजना छ ।
चन्द्रागिरीमा लगिएका नेता र सांसदलाई सम्बोधन गर्दै माधव नेपालले नयाँ पार्टी गठन गरे पनि एकताको प्रक्रिया खुला रहने बताएका छन् । उनले दोस्रो तहका नेताहरु ओलीको पाउमा लम्पसार परेको आरोप लगाएका छन् ।
चन्द्रागिरी हिल्समा एमालेका ६० जना केन्द्रीय सदस्य र २६ जना सांसद सहभागी भएका दाबी गरिएको छ ।
यसैबीच, नयाँ पार्टी दर्तामा लागेका माधवकुमार नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नेपालले राष्ट्रपतिसमक्ष आफू १४ जना प्रतिनिधिसभा सदस्यमाथि ओलीले गरेको कारबाही फिर्ता गराउन आग्रह गरेको र राष्ट्रपति भण्डारीले एमाले नफुटाउन नेपाललाई आग्रह गरेको स्रोतले बताएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।