काठमाडौं – नेकपा एमाले विभाजन भइसक्दा समेत कतिपय नेताहरूले एकताको प्रयास जारी राखेर अध्यक्ष केपी शर्मा ओलीसँग ‘फाइनल’ कुराकानी गरिरहेका छन् । त्यसक्रममा एकता पक्षधर नेताहरू ओलीलाई भेट्न सोमबार बिहान बालकोट पुगेका छन् ।
एमालेमा हुँदा नेता माधवकुमार नेपाल पक्षधर भएपनि विभाजनमा नगएका नेताहरू सहमतिका लागि अहिले ओलीसँग वार्ता गरिरहेका छन् ।
अध्यक्ष ओली पक्षका नेताहरू सुवासचन्द्र नेम्बाङ र विष्णु पौडेल लगायतमार्फत ओलीलाई भेटेर छलफल भइरहेको छ ।
ओलीसँग फाइनल वार्ताका लागि उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य, रघु पन्त लगायत तेस्रो धारका नेताहरू बालकोट पुगेका छन् ।
उपाध्यक्ष ज्ञवालीले भने, ‘हामीले ९ गतेअगाबै सकेसम्म सबै कुरा टुंग्याउनुपर्छ भनेका छौं । अध्यक्ष ओली पक्षका नेताहरूमार्फत हाम्रो कुरा जानकारी गराएका छौं, साथीहरूले भेट्ने समय मिलाउनुभएको छ ।’
यसअघि ११ बुँदे सहमति कार्यान्वयनका लागि २ दिने अल्टिमेटम दिएका नेताहरूले भोलि मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने बताएका छन् । मंगलबारसम्म ओलीले सहमति कार्यान्वयन नगरे बुधबार आफू पक्षको भेला राखेर निर्णय लिने तयारी नेताहरूको रहेको छ ।
अध्यक्ष ओली पक्षका नेताहरूले १० बुँदे कार्यान्वयन भइसकेको र बाँकी कुरा पार्टी बैठकमा आएर राखेमा छलफल हुने टिप्पणी गरेपछि नेताहरू असन्तुष्ट बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।