आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको रुखो जवाफले एमालेका ‘५७ भाइ’ निराश, यस्तो छ विद्रोहको तयारी

केपी ओलीको रुखो जवाफले एमालेका ‘५७ भाइ’ निराश, यस्तो छ विद्रोहको तयारी

  • मिडिया डबली
  • सोमवार, भाद्र ७ २०७८

  • 5.7K
    SHARES

  • केपी ओलीको रुखो जवाफले एमालेका ‘५७ भाइ’ निराश, यस्तो छ विद्रोहको तयारी

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तेस्रो धारका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भएपनि अध्यक्ष केपी शर्मा ओली भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेका छन् ।

    पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका नेताहरुले १० बुँदे कार्यान्वयन नभए पार्टीभित्र ठूलो विद्रोह हुने चेतावनी दिँदै आएका छन् ।

    तर तेस्रो धारको चेतावनीको जवाफ ओली पक्षीय नेताले चेतावनीकै शैलीमा दिन थालेका छन् ।

    पार्टी एकताका लागि तेस्रो धारका ‘५७ भाइ’ले पार्टी एकताका लागि मंगलवारसम्मको अल्टिमेटम दिएको भएपनि अध्यक्ष ओली एक्लै अगाडि बढ्न खोजेको उनीहरुको बुझाइ रहेको छ । अध्यक्ष ओलीले मंगलवारभित्र १० बुँदे सहमति कार्यान्वयनका लागि चित्तबुझ्दो जवाफ नदिए आफूअनुकूल निर्णय गर्न स्वतन्त्र रहेको बताइरहँदा नेतृत्व पंक्ति गम्भीर नरहेको देखिएको छ ।

    एमालेका ‘५७ भाइ’का नामले परिचित पक्षमा नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तर नेपालकै नेतृत्वमा प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीमा नरहेका व्यक्ति छन् । पार्टी एकता जोगाउन कतै पनि नखुलेका उनीहरु अध्यक्ष ओली निकटका नेताहरुले पार्टीमा अब बार्गेनिङ नचल्ने जवाफ फर्काएपछि निराश बनेका छन् ।

    गत शुक्रवार महाराजगञ्जस्थित एक पार्टी प्यालेसमा बसेको ५७ भाइको बैठकले ओलीका साथै नेपाललाई समेत पार्टी एकताका लागि दबाब दिने निर्णय गरेको थियो । नयाँ दल दर्ताको प्रक्रियामा रहेका नेपाललाई उनीहरुले दल दर्ता नगरी पार्टी एकतामै फर्किन भन्दै दबाब दिँदै आएका छन् ।

    तर ओली पक्षका नेताहरुले तेस्रो धार भनिएका ५७ भाइलाई पार्टी एकताको नाममा बार्गेनिङ गरिरहेको आरोप लगाएका छन् । पार्टी एकताको नाममा अब त्यस्तो कुनै बार्गेनिङ नचल्ने भन्दै ओली पक्षका नेताले उनीहरुको प्रस्ताव अस्वीकार गरेका छन् ।

    गत ३ भदौमा भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘पिलो निचोरेको तर घाउ बाँकी नै छ ।’

    ओलीको यो भनाइलाई उनीहरुले १० बुँदे कार्यान्वयन हुँदैन, यथास्थितको एमालेमै फर्किने फर्किउन्, नफर्किनेहरू जहाँ जानु छ त्यहाँ गए हुन्छ भन्ने रहेको बुझेका छन् ।

    ओलीनिकट १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले १० बुँदे कार्यान्वयनको नाममा ५७ जना नेताले बार्गेनिङ गरिरहेको बताउँदै अब पार्टीमा बार्गेनिङ नचल्ने बताए । राईले १० बुँदे कार्यान्वयन भइसकेको समेत दाबी गरेका छन् ।

    ‘उहाँहरु जुन भेला, जुन वक्तव्यबाजी गर्दै हुनुहुन्छ, त्यो बेठीक छ, उहाँहरुलाई सर्लक्कै १० बुँदे कार्यान्वयन नगर्ने कसैले भनेको छैन । अध्यक्ष ओलीले एकताका लागि आह्वान गरिरहनुभएको छ, हामीले १० बुँदेलाई अनुमोदन पनि गरेका छौं,’ राईले भने, ‘अब यो सरासर कार्यान्वयन गर्ने, स्थायी कमिटीको बैठक बसेर यसरी कार्यान्वयन गर्ने भनेर भन्दाखेरी टुंगिने जुन कुरा छ उहाँहरुले नयाँ माधव नेपाल फेरि खडा गरेर जुन बार्गेनिङ गर्दै हुनुहुन्छ, वक्तव्यबाजी गर्दै हुनुहुन्छ, यो कुरालाई तुरुन्तै रोकेर पार्टीमा बसेर, उभिएर सबै कुरा लागू गर्नुपर्छ । यो धारको बैठक, भेला तुरुन्तै रोक्नुपर्छ । यो पार्टीको हितमा छैन ।’

    अध्यक्ष ओली पक्षका नेताहरुले अल्टिमेटमको कुनै अर्थ नहुने प्रतिक्रिया दिए । पार्टीभित्र कुनै विवाद वा समस्या नभएको भन्दै उनीहरुले आफ्नो जिम्मेवारीअनुसार पार्टी काममा फर्किनुपर्नेमा जोड दिए ।

    एमाले स्थायी कमिटी सदस्य समेत रहेका ओली पक्षका नेता सत्यनारायण मण्डलले तेस्रो धारका ५७ जना नेताको नियत नै राम्रो नभएको टिप्पणी गरेका छन् । अर्काको प्रभावमा परेर पार्टीभित्र बार्गेनिङ गर्न खोजिएको आरोप मण्डलले लगाएका छन् ।

    ‘१० बुँदे सहमतिलाई पार्टीले अनुमोदन गरिसकेको छ । कार्यान्वयनका लागि त पार्टी बैठकमा आउनुपर्‍यो । बाहिर बसेर बार्गेनिङ गर्ने भनेको पार्टीलाई सिध्याउने नियत मात्रै हो,’ मण्डलले भने, ‘अब पार्टीमा बार्गेनिङको कुनै अर्थ छैन । उनीहरुको नियत नै राम्रो छैन । अर्काको प्रभावमा परेर बार्गेनिङ गर्न खोजिँदैछ ।’

    ५७ जना नेताले भनेको १० बुँदे सहमति पार्टीले अनुमोदन गरिसकेको र त्यसको कार्यान्वयनका लागि पार्टीको गतिविधिमा सहभागी भएर खबरदारी गर्नुपर्ने उनले बताएका छन् ।

    ‘तर बैठकमा नआउने अनि बाहिर बसेर पार्टी एकताको नाममा बार्गेनिङ गर्ने ?’ मण्डलले प्रश्न गरे ।

    माओवादीबाट एमालेमा आएका नेताहरुबारे ५७ जना नेताहरुको दृष्टिकोण नै गलत रहेको उनको भनाइ छ । ‘२०७५ जेठ २ गतेको अवस्थामा पार्टी फर्किनुपर्छ भन्नुहुन्छ । माओवादीबाट एमालेमा आएका नेताहरुको बारे के गर्न खोजेको ? पार्टी त यसै पनि फुटेको छ, उसै पनि फुटेको छ । अब कोही कसैको कुनै बार्गेनिङ पार्टीमा चल्दैन,’ उनले भने ।

    २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । सो एकीकरणलाई सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाले पूर्वावस्थामा फर्काइदिएको थियो । तर नेकपा रहेकै अवस्थामा ओली पक्षमा लागेका पूर्व माओवादी पृष्ठभूमिका केही नेता ब्युँतिएको एमालेमै रहेका थिए । १० बुँदे सहमतिअनुसार २०७५ जेठ २ गतेको एमाले स्थायी कमिटी बैठक बसेर उनीहरूलाई पार्टीमा मनोनित गरेर जिम्मेवारी दिनुपर्ने अडानमा तेस्रो धारका नेता रहेका छन् ।

    ओली पक्षका अर्का नेता शेरबहादुर तामाङले जोजो फर्केर आउँछन्, उनीहरुले जिम्मेवारी पाउने तर अल्टिमेटम र बार्गेनिङ पार्टीले नसुन्ने बताए । एमाले केन्द्रीय कार्यालयका सचिव समेत रहेका नेता तामाङले भने, ‘पार्टीले यस्ता अल्टिमेटम र बार्गेनिङ धेरै व्यहोरिसक्यो । अब बार्गेनिङ हुँदैन, चल्दैन । जो फर्केर आउँछन् उनीहरुले आफ्नो जिम्मेवारी पाउँछन् ।’

    विभिन्न गुट र समूहले गर्ने बार्गेनिङको आधारमा कसैलाई पार्टीले पर्खेर बस्न नसक्ने तामाङले बताएका छन् । पार्टी गतिविधि जारी नै रहेको र कसैको अल्टिमेटमले नरोकिने बताउँदै उनले आआफ्नो जिम्मेवारीअनुसार पार्टी काममा फर्किन आग्रह गरेका छन् ।

    तेस्रो धारमा रहेका नेता घनश्याम भुसालले १० बुँदे प्रस्तावको पूर्ण कार्यान्वयन नभए ठूलो विद्रोह हुने चेतावनी दिँदै आएका छन् । पार्टीलाई एकताबद्ध बनाउन १० बुँदे प्रस्ताव कार्यान्वयन र नयाँ दल दर्ताको प्रक्रिया रोक्नुपर्ने उनले बताएका छन् ।

    यस्तो छ १० बुँदे प्रस्ताव –

    १. केही समययता पार्टीका आन्तरिक अन्तरविरोध पार्टीको दायराभन्दा बाहिर पुगेका छन् र कतिपय सन्दर्भमा कटुतापूर्ण तथा एकअर्काप्रति निषेधात्मक बन्दै गएका छन् । यस्ता अन्तरविरोध पार्टीभित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्न हामी सहमत भएका छौं ।

    २. पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन् ।

    ३. २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कारबाही स्वतः बदर भएका छन् ।

    ४. २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले)मा रहने कमरेडहरूको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ । अन्य कमरेडहरूलाई उहाँहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदासरहको कमिटीमा संगठित गरिनेछ ।

    ५. पार्टीमा महत्वपूर्ण योगदान गर्नुभएका कमरेडहरूलाई मौजुदा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढ्नेगरी उक्त कमिटीमा मनोनित गरिनेछ ।

    ६. प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णयअनुरूप हामी अगाडि बढ्नेछांै ।

    ७. पार्टी तथा जनसंगठन पूर्ववत् अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुन सक्ने समस्याको निराकरण गर्न र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गरिनेछ ।

    ८. यी निर्णयहरू आवश्यकताअनुसार अनुमोदनका लागि यथाशीघ्र विधान महधिवेशन आयोजना गरी प्रस्तुत गरिनेछ ।

    ९. पार्टी, संसदीय दल र जनसंगठनहरूलाई विधि र पद्धतिसम्मत किसिमले उच्च समझदारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गरिनेछ । यसका लागि एकताबद्ध भई आआफ्नो स्थानबाट सक्रियतापूर्वक योगदान गर्न समस्त पार्टी पंक्तिलाई आह्वान गरिएको छ ।

    १०. कार्यदलको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठक आयोजना गर्न अध्यक्ष एवं महासचिव कमरेडलाई अनुरोध गर्ने । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend