काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विभाजित भएको नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र बराबरकै हैसियत पाउने भएको छ ।
सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको छ ।
बालुवाटार स्रोतका अनुसार एकीकृत समाजवादीबाट ६ जना मन्त्री नियुक्त हुने भएका छन् । सरकारमा एकीकृत समाजवादीबाट ५ मन्त्री र १ राज्यमन्त्री गरी ६ मन्त्री नियुक्त हुने जनाइएको छ ।
तत्कालै मन्त्री नियुक्त भने नहुने भएका छन् । निर्वाचन आयोगमा पार्टी दर्ता भइसकेपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।
एकीकृत समाजवादी पार्टीमा सरकारमा पार्टीबाट नेतृत्व गर्ने नेताहरूमा मुकुन्द न्यौपाने र बेदुराम भुसाल रहेका छन् । न्यौपाने प्रतिनिधि सभामा समानुपातिकबाट निर्वाचित सांसद हुन् भने भुसाल राष्ट्रियसभा सदस्य हुन् । भुसाल हालसम्म मन्त्री भएका छैनन् भने न्यौपाने पूर्वमन्त्री रहेका छन् ।
तीबाहेक सरकारमा जाने मन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठको नाम लगभग निश्चित भएको स्रोतले जनाएको छ । राज्यमन्त्रीमा जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये १ जना नियुक्त हुने जनाइएको छ । नेपाल पक्षमा राष्ट्रिय सभामा कलम चिह्नबाट विजयी भएका डा. खिमलाल देवकोटाको नाम समेत मन्त्रीका लागि चर्चामा रहेको छ ।
नेता नेपालको पार्टीले उपसभामुख पनि पाउने देखिएको छ । उपसभामुख, संसदीय समितिका सभापति र अन्य राजनीतिक नियुक्तिबारे टुंगो लाग्न बाँकी नै रहेको छ । उपसभामुख एकीकृत समाजवादीले पाएमा सरला यादवलाई बनाउने सम्भावना रहेको बताइन्छ ।
एकीकृत समाजवादीलाई ६ मन्त्री दिँदा माओवादी केन्द्रले समेत ६ मन्त्री नै पाउने स्रोतको दाबी छ । माओवादीबाट २ मन्त्री नियुक्त भइसकेका छन् । एकीकृत समाजवादीको दर्ता प्रक्रियाकै कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।