काठमाडौं – नेकपा एमालेमा चर्किएको विवाद विभाजनसम्म पुगिसक्दा समेत अझै साम्य भएको छैन ।
नेता माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएकोमा एमालेमै रहेका उपाध्यक्ष भीम रावल पक्षले अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष जारी राखेका छन् ।
उपाध्यक्ष रावल पक्षले आफ्ना माग पूरा गर्न मंगलबारसम्मको समय दिएका छन् । उपमहासचिव घनश्याम भुसालले सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै मंगलबारभित्र माग पूरा हुनुपर्ने र माग पूरा नभए सामूहिक विद्रोह हुने चेतावनी दिएका छन् ।
भुसाललाई कडा जवाफ दिँदै अध्यक्ष ओलीपक्षीय नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टी छाडेर जानेलाई बाटो खुला रहेको बताएका छन् ।
नेता बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘मंगलबारे समयको रोइलो मैले बुझिनँ । बस्नेलाई राडी बिछ्याएको फलैचा जानेलाई बाटो । काग र कोइली कालै देखिन्छन् र चलाख पनि तर खास फरक गृष्मयाममा देखिन्छ र सबैलाई थाहा छ मंगलबारपछि बुधबार आउँछ ।’
उपाध्यक्ष रावल पक्षले पार्टीमा भएको १० बुँदे सहमति कार्यान्वयन हुुनुपर्ने आवाज उठाइरहेको छ । उपाध्यक्ष रावलसहित भेट्न आएका नेताहरूलाई अध्यक्ष ओलीले बार्गेनिङ नगर्न चेतावनी दिएका छन् । त्यस्तै संकेत उनीपक्षीय नेता बाँस्कोटाले समेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।