काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएर पार्टी विभाजनको अवस्थामा पुगेपछि अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर नेत्री अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाए । यस्तो घटनाक्रमपछि धेरैले अनुमान गरे – शाक्य ओली पक्षमा लागिन् ।
मुख्यमन्त्री हुनुअघि शाक्य नेता माधवकुमार नेपालको पक्षमा थिइन् । तर मुख्यमन्त्री बनिसक्दा समेत शाक्यले आफू नेपाल पक्षमै रहेको स्पष्ट पारेकी छन् ।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताइन् ।
मुख्यमन्त्री शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष ओलीले गर्नेबित्तिकै एमाले एकजुट भएर अघि बढ्ने समेत बताइन् ।
पार्टी एकतालाई कमजोर बनाउने काम गर्न नहुने बताउँदै उनले सिंगो पार्टीपंक्तिको ध्यानाकर्षण गराएकी छन् । मुख्यमन्त्री शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेपाल दुबैको साथ पाएर मुख्यमन्त्री भएको दाबी गरिन् । बाहिर–बाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत प्रचार गरिएकाले पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न समेत उनले आग्रह गरिन् । नेता नेपालले भने एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
मुख्यमन्त्री शाक्यले भनिन्, ‘म मुख्यमन्त्री हुनुमा दुबै नेताहरूको साथ छ, सहमति छ । अनि बाहिर–बाहिर कुरा आउँछ, अष्ट त के–के भयो, के–के भनेर । लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नुभयो, यो गलत कुरा हो । गलत सन्देश दिने काम नगरिदिनुहोस् । जे छ, त्यही कुरा बाहिर आयो भने त्यसले पार्टी एकताका लागि हौसला बढाउँछ, प्रेरणा मिल्छ । मान्छेलाई एकताका लागि यसरी जानुपर्ने रहेछ भन्ने तय हुन्छ ।’
पार्टीमा भएको १० बुँदे सहमति कार्यान्वयन गरेमा एमाले बलियो हुने उनले बताइन् । ‘मलाई दृढ विश्वास छ – केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढ्नेछ । त्यसका लागि १० बुँदे प्रस्तावलाई उच्च मूल्यांकन गरेर अगाडि बढाउन हाम्रो नेतृत्वले मन फराकिलो बनाएर नेकपा एमालेलाई बलियो बनाउन चाहन्छु भन्नुभयो भने स्थिति उथलपुथल हुन्छ । त्यसैले पार्टीलाई कमजोर बनाउने काम नगरौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।