काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएर नेता माधवकुमार नेपालले पार्टी विभाजन गरेर गइसकेपछि अब उपाध्यक्ष भीम रावलको नेतृत्वमा अर्काे विद्रोह हुने संकेत देखिएको छ ।
उपाध्यक्ष रावलको नेतृत्वमा शुक्रबार काठमाडौंमा भएको एमालेका ५७ नेताको बैठकले आफ्ना माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई २ दिने मौका दिने र माग पूरा नभए विद्रोह गर्ने चेतावनी दिएको छ ।
यसअघिको विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग उपाध्यक्ष रावल पक्षले राखेको छ । नेपाल पक्ष भने १० बुँदे सहमतिले मात्रै नहुने भन्दै विभाजनमा गइसकेको छ ।
उपाध्यक्ष रावल पक्षले माग पूरा नभए नेता माधवकुमार नेपालले पार्टी विभाजन गरेकोभन्दा ठूलो क्षति हुने चेतावनी समेत दिएको छ । यसअघि ओलीसँग असन्तुष्ट रहेका ९ जना स्थायी कमिटी सदस्यहरूले संयुक्त वक्तव्य जारी गरेका थिए । ती ९ जनाले शुक्रबार केन्द्रीय कमिटी सदस्य र सांसदहरूसँग छलफल गरेका छन् । छलफलमा ५७ जना सहभागी रहेका थिए ।
नेताहरूको बैठकले २ दिनभित्र १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गर्ने निर्णय गरेको छ । १० बुँदे सहमतिअनुसार माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्यहरू थप गरेर अर्को बैठक बोलाउनुपर्ने रावल पक्षको माग रहेको छ ।
पार्टीका तल्लो तहका कमिटी र जनवर्गीय संगठन २०७५ जेठ २ गते फर्किंदा हुने समस्या हल गर्न निश्चित समय दिएर कार्यदल गठन गर्नुपर्ने समेत रावल पक्षको माग छ ।
उपाध्यक्ष रावल पक्षले नयाँ पार्टी खोल्ने माधवकुमार नेपाल पक्षको निर्णय फिर्ता लिन समेत माग गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।