काठमाडौं - पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यति बाहिर निस्कनन् ।
पार्टीको औपचारिक बैठकबाहेक उनी प्रायः खुमलटारमै बस्छन् । त्यहीँबाट सरकार सञ्चालनबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्छन् । प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गरिरहन्छन् ।
खुमलटारमा बसेर पार्टीको राजनीतिक प्रतिवेदन लेखिरहेका प्रचण्ड फेरि पनि नेपालको राजनीतिमा हाबी बन्न थालेका छन् । नेपालको बलियो र ठूलो कम्युनिस्ट पार्टी एमाले विभाजन गराउन प्रचण्ड सफल भइसकेका छन् ।
एमाले अध्यक्ष केपी ओलीबाट वरिष्ठ नेता माधवकुमार नेपाललाई अलग्याउनु उनको ठूलो राजनीतिक सफलता हो । प्रचण्डले वामदेव गौतमलाई पहिले नै ओलीबाट टाढा बनाइसकेका थिए । झलनाथ खनाल पनि ओलीबाट छुट्टिएका छन् । एकपछि अर्को ठूलो एमाले नेता ओलीबाट अलग्याउनु प्रचण्डको सफलता मानिएको छ ।
यतिबेला प्रचण्ड भित्रभित्रै एमालेलाई चुनौती दिन ठूलो कम्युनिस्ट पार्टी गठनको तयारीमा लागेको स्रोतले बतायो । त्यसका लागि उनले डा.बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, मोहन वैद्यसँग विभिन्न चरणमा कुराकानी गरिसकेका छन् ।
माओवादी केन्द्रबाट एमाले गएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतसँग पनि सम्पर्क भइरहेको बुझिएको छ ।
एमालेका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, बाबुराम भट्ट, मोहन वैद्य, नेत्रविक्रम चन्द सबैलाई समेट्दा ओलीभन्दा ठूलो हैसियत बनाउने रणनीतिमा प्रचण्ड जुटेको खुमलटार स्रोतले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।