आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डोरमणि पौडेलले केपी ओलीको नक्कल गर्दा ...

डोरमणि पौडेलले केपी ओलीको नक्कल गर्दा ...

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ४ २०७८

  • 4.0K
    SHARES

  • डोरमणि पौडेलले केपी ओलीको नक्कल गर्दा ...

    काठमाडौं – बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेलको बिदाइ असामान्य देखिएको छ ।

    हेटौंडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री निवासबाट नवलपुरस्थित निजी निवासमा फर्कंदा देखिएको दृष्य केही रोचक र असान्दर्भिक देखिन्थ्यो ।

    नेपालकै सबैभन्दा पाको उमेरका मुख्यमन्त्रीबाट धेरैले सादगी, सरलता र असल संस्कार अपेक्षा गरेका थिए । त्यसमाथि कोरोना भाइरसको बढ्दो संक्रमणबीच भेला, गोष्ठी गर्न स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ ।

    तर करीब साढे ३ वर्ष मुख्यमन्त्री भएका ७५ वर्षीय पौडेलको बिदाइ र त्यसपछिको उनको भाषणले धेरैलाई निराश बनायो ।

    नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि बालुवाटारबाट बालकोट जाँदाको झल्को दिने गरी पौडेल घर पुगेका हुन् ।

    मुख्यमन्त्री निवासमा भेला भएका कार्यकर्ताले ‘डीएम बा आई लभ यू, डीएम सर उई लभ यू, हाम्रो नेता कस्तो होस् डीएम सर जस्तो होस्, पार्टी एकता जिन्दावाद, नेकपा एमाले जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

    जनताको सेवक नेताले जयजयकार खोज्ने र गर्ने संस्कार एमाले अध्यक्षबाट बिस्तारै तल्लो तहसम्म पुग्दै गरेको झल्को पौडेलको बिदाइले झल्काउँथ्यो । ठ्याक्कै ओलीको शैलीको नक्कल, तामझाम र राजर्षी शैलीमा ।

    नेता, कार्यकर्तासँगै स्थानीय पालिकाका पदाधिकारी, कर्मचारीहरू समेत जनताको काम छाडेर बिदाइ लावालस्करमा सहभागी भएका हुन् । जसका कारण हेटौंडामा राजमार्गको दायाँबायाँ २५/२५ मिटर सडक विस्तारको विपक्षमा उभिएका निवर्तमान मुख्यमन्त्रीको बिदाइ हुँदा सवारी आवागमनमा समस्या हुँदा जनताले सास्ती पाएका थिए ।

    पूर्वपश्चिम राजमार्गको बुद्धचोकदेखि नवलपुरसम्म समेत सडक अस्तव्यस्त हुँदा ट्राफिक प्रहरी मुकदर्शक बनेका थिए ।

    ट्राफिक नियमको धज्जी उडाउँदै मोटरसाइकलमा उभिँदै हर्न निषेध गरिएको स्थानमा समेत कार्यकर्ताले अनावश्यक हर्न बजाएका थिए । तत्कालीन हेटौंडा नगरपालिकाका २ पटक मेयर भएका निवर्तमान मुख्यमन्त्री हेटौंडामा ध्वनी र वायू प्रदुषण बढ्ने गरी गरिएको बिदाइमा मख्ख देखिन्थे । पैदल र केही सवारीमा सवार स्थानीयलाई सानसहित हात हल्लाउँदै गरेको दृश्य हेर्दा भर्खर नवनियुक्त मुख्यमन्त्रीझैं भान हुन्थ्यो ।

    करीब १०० सवारीसाधनसहित घर पुगेका पौडेलले उत्साहका साथ गृह प्रवेश गराएको भन्दै कार्यकर्तालाई धन्यवाद दिएका छन् ।

    बागमती प्रदेशमा एमालेका ५६ मध्ये २२ सांसद रहेको माधवकुमार नेपाल समूहकी अष्टलक्ष्मी शाक्य सहितलाई एमालेमै रोक्न सफल भएको र त्यागी नेताको श्रेय पौडेलले पाएका छन् । घर पुगेपछि बागमती प्रदेशमा आफूहरुकै सरकार रहने भन्दै आफुले जिल्ला र निर्वाचन क्षेत्रमा केन्द्रीत रहेर काम गर्ने बताएका छन् ।

    ‘कसैले कल्पना नगरेको अनि कसैले औला नउठाउने गरी इमान्दारपूर्वक काम गरेका छौं,’ पौडेलले भने, ‘मुलुकलाई परिवर्तन गराउँन प्रस्ट दृष्टिकोण, चिन्तन हुन जरुरी छ भन्ने कुरा आदरणीय पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्रीले देखाइसक्नुभएको छ ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend