काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल नेतृत्वको नयाँ दल दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउने जनाएका छन् ।
बिहीवार काठमाडौंमा समाजवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो जनाएका छन् ।
अध्यक्ष प्रचण्डले भने, ‘नयाँ परिस्थिति बनेसँगै प्रधानमन्त्री, माधवजी र मेरो छलफल भएको छ । नयाँ दल दर्ता भएको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् टुंग्याइदिनुपर्छ भन्ने सहमति भएको छ ।’
बिहीवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष प्रचण्ड र नेपाल बालुवाटार गएका थिए । भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको र नेता नेपालको नयाँ दल दर्ता भएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको अध्यक्ष प्रचण्डले बताए ।
अर्को प्रसङ्गमा प्रचण्डले पहिलेको सरकारले ल्याएको अध्यादेश र अहिले ल्याएको अध्यादेशमा आकाश र जमिनको फरक रहेको बताए । ‘अहिले ल्याएको अध्यादेशको उद्देश्य गणतन्त्र र लोकतन्त्रको रक्षा गर्नु छ । त्यसैले यी दुईटा अध्यादेशमा फरक छ,’ प्रचण्डले भनेका छन् ।
कार्यक्रममा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेबाट फुटेर माधव नेपालले नेकपा एमाले समाजवादी पार्टी दर्ता गरेर देशमा नयाँ समाजवाद ल्याउने प्रयत्न गरेको बताएका छन् ।
डा. भट्टराईले भने, ‘एमालेभित्र विद्रोह गरेर माधव नेपालजीले समाजवादीको अर्को पार्टी सुरूआत गर्नुभएको छ, यसले के देखाउँछ भने फेरि नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ ।’
डा. भट्टराईले समाजवाद अहिलेको आवश्यकता रहेको बताउँदै भने, ‘देशमा नयाँ समाजवादको आवश्यकता छ । त्यो माधव नेपालजीले एमाले समाजवादी सुरू गरेर सुरूआत गर्नुभएको छ ।’ त्यसका लागि युवा पुस्तालाई नयाँ बाटो देखाइदिनुपर्ने उनले बताएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।