काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको लामो विवादपश्चात् अन्ततः एमाले बुधवार औपचारिक रुपमा फुटेको छ ।
प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल रहेको एमालेबाट फुटेर वरिष्ठ नेता नेपालको नेतृत्वमा नयाँ दल गठन भएको छ ।
नवगठित पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी)’ राखिएको छ । पार्टी अध्यक्षमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल र वरिष्ठ नेतामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल रहेका छन् ।
निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको नवगठित पार्टी नेता राजेन्द्र पाण्डेले बताएका छन् ।
पार्टी केन्द्रीय सदस्य ९५ सदस्यीय र चुनाव चिह्नमा खुला किताब प्रस्ताव गरिएको छ । नेता पाण्डेका अनुसार प्रतिनिधि र राष्ट्रिय सभाका ३१ सांसद र साविक एमालेका ५८ केन्द्रीय सदस्यसहित ९५ सदस्यीय कमिटी बनेको छ । एमाले र माओवादी केन्द्रबीच एकतापश्चात् बनेको नेकपा अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सुरू विवाद चर्किंदै गएपछि पार्टी फुटेको छ ।
सर्वोच्च अदालतको फैसलापश्चात् एमाले ब्यूँतिएपछि ओली र नेपालबीच कुनै सहमति हुन नसक्दा विभाजन भएको छ । ओली र नेपाल पक्षका नेता रहेका कार्यदलले १० बुँदे प्रस्ताव गर्दै एकताका लागि दबाब दिएको थियो । दोस्रो तहका नेताको दबाबमा पार्टी एकताबद्ध बनाउन नसकिएपछि नयाँ दल गठन भएको छ ।
पार्टी गठनपश्चात नेता नेपालले एमाले पुनर्गठन र रुपान्तरण महाअभियानमा एमाले समाजवादी गठन गरेको बताए । एमालेबाट विद्रोह गरी आफ्नो अध्यक्षतामा एमाले समाजवादी पार्टी दर्ता गरेपछि बुधवार वक्तव्य जारी गर्दै नेपालले एमाले पुनर्गठन र रुपान्तरण महाअभियानमा नयाँ पार्टी खोलेको जनाए ।
‘नेकपा एमाले पुनर्गठन र रुपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा एमालेबाट वैधानिक रुपमा विद्रोह गरी नेकपा एमाले समाजवादी नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छौं,’ वक्तव्यमा उल्लेख छ, ‘कम्युनिस्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रुपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आ–आफ्नो ठाउँमा खट्नहुन र सहयोग पुर्याउन हुन सबैमा हार्दिक अपिल गर्दछौं ।’
देश, जनता र कम्युनिस्ट आन्दोलनप्रतिको दायित्वबाट नपन्छिने बताउँदै अध्यक्ष नेपालले एमालेलाई नयाँ ढंगले पुनर्गठन र रुपान्तरित अभियान चलाउनु नै अहिलेको आवश्यकता भएको जनाएका छन् ।
ओली र नेपाल पक्षबीच लामो समय विवाद रहेको बेला नेपाललाई साथ दिएका दोस्रो तहका नेता नयाँ पार्टीमा गएका छैनन् । आफूहरु पार्टी एकताकै पक्षमा रहेको भन्दै उनीहरु नयाँ पार्टीमा सहभागी नभएका हुन् । नेपाललाई साथ दिँदै आएका एमाले उपाध्यक्षत्रय डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायत शीर्ष नेता नयाँ पार्टीमा गएनन् ।
यसैबीच, एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटाएको आरोप लगाए । लुम्बिनी प्रदेश पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले तत्कालीन नेकपाभित्रको राजनीतिक संकट निम्त्याउने पात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै भएको आरोप लगाए ।
‘नेकपादेखि अहिलेको राजनीतिक घटनाको पृष्ठभूमि प्रचण्ड र उनलाई साथ दिनेहरु हुन्,’ पोखरेलले भने, ‘प्रचण्डको अस्थिर चरित्र नै राजनीतिक रुपमा विभाजनको मूल कारक हो । आन्दोलनकारी, अभियान्ताजस्तो देखिनुभयो प्रचण्डजी, त्यसैले माओवादी आन्दोलनका पुराना नेताहरु पाखा लाग्नुभएको रहेछ ।’ नेकपा एकतामा समेत प्रचण्ड इमान्दार नदेखिएको बताउँदै उनले ओलीलाई ‘एकताविरोधी’ बनाउन खोजिएको बताएका छन् ।
अध्यादेश ल्याएर एमाले विभाजन गराउने खेलमा प्रचण्ड लागेको नेता पोखरेलले आरोप लगाए । उनले माधव नेपालकै कारण पार्टी फुटेको ठोकुवा समेत गरेका छन् । नेपालले एमालेलाई १५ वर्षसम्म ‘एकल नेतृत्व गरेको’ बताउँदै पोखरेलले त्यस्तो नेताले अध्यक्ष हुन खोजेपछि नै समस्या सिर्जना भएको आरोप लगाएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।