काठमाडौं – नेकपा एमालेमा विवाद रहेका बेला नेता माधवकुमार नेपाल पक्षबाट वार्ता कार्यदलमा सहभागी भएका उपमहासचिव घनश्याम भुसालले नयाँ पार्टी खोल्न समेत उक्साए । भुसालसहित नेताको उक्साहटमा नेता नेपाल नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेपनि अन्तिममा भुसाल नेपालको पार्टीमा सहभागी भएनन् ।
लगातार नेपाल पक्षमा रहेर नयाँ पार्टी नेकपा एमाले समाजवादी पार्टीमा नगएका उपमहासचिव भुसाल अब एमालेकै अध्यक्ष केपी शर्मा ओलीसँग ‘बार्गेनिङ’मा लागेका छन् ।
सरकारले ल्याएको अध्यादेशका आधारमा नेता नेपालको अध्यक्षतामा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएकै दिन बुधबार साँझ ओलीलाई भेट्न भुसाल बालकोट पुगेका छन् ।
अध्यक्ष ओलीसँग एक्लाएक्लै कुरा गरेर भुसालले पार्टीको अवस्थाबारे छलफल गरेका स्रोतले जनाएको छ । यसअघि भुसालले नेपाल पक्षमाथि गरिएको कारवाही फिर्ता लिन माग गर्दै मंगलबार साँझ ओलीलाई भेटेका थिए ।
एमालेमा विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको पक्षमा रहेका उपमहासचिव भुसालले अध्यक्ष ओलीसँग छलफल गरेर एमालेमै रहने वा नयाँ पार्टीमा जाने भनेर निर्णय गर्ने स्रोतले जनाएको छ ।
एमालेमा नेपाल पक्षमा रहेका प्रभावशाली नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण विष्ट समेत नयाँ पार्टीमा गएका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।