काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी थालेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलवार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ ।
नेता नेपालले १–२ दिनमै नयाँ दल दर्ताको तयारी गरेका छन् ।
नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नाम समेत तय भइसकेको स्रोतले जानकारी दिएको छ । ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन । नयाँ दल दर्ताको तयारी छ । नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन,’ नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘विधान, राजनीतिक प्रतिवेदन सबै तयारी अवस्थामा रहेको छ ।’
अध्यक्ष ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरुको भनाइ रहेको छ । पार्टी विभाजन रोक्न मंगलवार साँझ ३० जना केन्द्रीय सदस्यले आन्तरिक छलफल गरेका छन् ।
नेता नेपाल पनि ओली एकताका लागि तयार भए दल विभाजन गर्ने पक्षमा छैनन् । तर ओलीले पेलेर जाने संकेत गरेपछि उनी नयाँ दल दर्ताको तयारीमा लागेका छन् ।
‘ओलीले अन्याय गर्दैनन्, सबै साथीलाई न्यायपूर्ण भावनाले हेर्छन् भने पार्टी विभाजन हुँदैन तर त्यसको ग्यारेन्टी उनले दिन सक्दैनन्,’ नेपाललाई उदृत गर्दै स्रोतले भन्यो ।
नेपाल पक्षका केन्द्रीय सदस्यहरु टंक कार्की, अरूण नेपाल, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, रविन कोइराला, भानुभक्त जोशी, ममता गिरी, जीवन घिमिरे, निरज आचार्य, माधव अर्याल, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, पवित्रा निरौला खरेल, राजबहादुर बुढा, जयबहादुर राई, चन्द्रबहादुर शाही, नारायण खतिवडा लगायत नेताहरुले पार्टीलाई विभाजन हुनबाट रोक्न पहल गरिरहेका छन् ।
‘पार्टी विभाजन गर्नहुन्न भन्ने हाम्रो मत रहेको छ तर यो खतरा झन् बढ्दै गएको छ,’ छलफलमा सहभागी केन्द्रीय सदस्य सुनुवारले भनेका छन् । उनीहरु राति अबेरसम्म छलफलमा जुटेका थिए ।
नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृत बोहोरा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, भीम आचार्य, हरि राई, प्रतापलाल श्रेष्ठ, गरिमा शाह, सोमप्रसाद पाण्डे, झपट रावल समेत पार्टी विभाजन गर्नहुन्न भन्ने पक्षमा रहेका छन् । उनीहरू पार्टी विभाजन भए ओलीतिर बस्ने कि नेपालतिर लाग्ने भन्ने दोधारमा रहेका छन् ।
सरकारले राजनीतिक दल विभाजन गर्न सहज हुने गरी अध्यादेश सिफारिस गरेको भन्दै बिष्ट, भट्टराई र रावलले विरोध गरेका छन् ।
अध्यक्ष ओलीले पार्टी एकताको ढोका बन्द गरे नयाँ दल बनाउनुपर्छ भन्नेमा झलनाथ खनाल, बामदेव गौतम, मुकुन्द न्यौपाने, बेदुराम भुसाल, रघुजी पन्त, जगन्नाथ खतिवडा, विरोध खतिवडा, श्रीमाया थकाली, रामकुमारी झाँक्री, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, राजेन्द्र पाण्डे, विजय पौडेल, जयन्ती राई, रामप्रित पासवान लगायतको पंक्ति रहेको छ ।
वरिष्ठ नेता नेपालले मंगलवार दिउँसो अध्यक्ष ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताएका थिए । आफ्नो समूहसम्बद्ध जनवर्गीय संगठनहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरुले एकताका लागि अन्तिमसम्म पहल गरेको भए पनि ओली सच्चिने सम्भावना नभएकाले नयाँ दल बनाउनुको विकल्प नभएको बताएका छन् ।
पार्टी उपमहासचिव घनश्याम भुसालले एकताका लागि अन्तिम पहल गर्ने भनेको र त्यसमा आफूले सहमति दिएको नेपालले बताएका छन् ।
नेता नेपालका अनुसार गत फागुन २८ गतेदेखि अहिलेसम्म ओलीले गरेका सबै निर्णय खारेज गर्ने, नयाँ निर्णय नगर्ने र अहिलेसम्म भएका सहमति पालना गर्ने गरी थप सहमति गर्ने प्रस्ताव भुसालले राखेका छन् । त्यसमा आफूले सहमति दिएपछि भुसाल ओलीलाई भेट्न गएको समेत नेपालले बताएका छन् ।
‘उहाँ (ओली) ले माधव नेपालहरुका लागि यो पार्टीको ढोका बन्द भइसक्यो भन्नुभएछ,’ नेपालले भने, ‘आजै पनि प्रकाश ज्वालालाई केन्द्रीय सदस्यबाट निकाल्नुभयो र २६० जनाको नाम निर्वाचन आयोगमा पठाउनुभएछ । सुन्दैछु, म, रामकुमारी झाँक्रीसहित १४ जनालाई निष्कासन गर्नुभयो ।’
यस्तो अवस्थामा पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुको विकल्प नभएको भन्दै उनले नयाँ दल दर्ताको संकेत गरेका थिए । नयाँ पार्टी खोल्दा पनि एकताको ढोका खुला राख्ने भन्दै उनले भने, ‘ओलीजी गल्ती स्वीकार गरेर आउनुभयो भने अहिले एकता हुन्छ, भोलि एकता हुन्छ, ३ महिनापछि पनि एकता हुन्छ, चुनावमा तालमेल गरेर जान सकिन्छ ।’
भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ओलीले पार्टीलाई दुर्दशामा पुर्याएको आरोप लगाएका थिए । ‘ओली पार्टी नेता होइनन्, गुटका नेता हुन्, उनले सँगै काम गरेका साथीहरु किन टाढिए भन्ने विषयमा कहिल्यै आत्मसमीक्षा गरेनन्,’ नेपालले भने ।
मुलुकलाई भ्रष्टाचारको चंगुलमा फसाउने काम ओलीले गरेको दाबी गर्दै नेपालले केही समय राष्ट्रवादी भएका उनले देशभक्तिको झण्डा समेत फालेको आरोप लगाएका छन् । ‘उहाँले कुनै समय देशभक्तिको झण्डा उठाएको भए पनि अहिले त्यो झण्डा फाल्नुभयो । लोकतन्त्र स्थापना र गणतन्त्र स्थापना गर्न भूमिका खेलेको पार्टी अहिले उहाँकै कारण लोकतन्त्र विरोधी हो कि भन्ने प्रश्न उठेको छ । राजवादीले मुण्टो उठाउन थालेका छन् । ओली नजिकका मानिसबाट संघीयता विरोधी आवाज आएका छन्,’ नेपालले भने ।
ओलीले नेकपा भएका बेला अन्तर्विरोधलाई सम्बोधन गर्न नसकेर विध्वंशकारी नीति अबलम्बन गरेको र सर्वोच्च अदालतको फैसलाको समेत अवमूल्यन गरेको नेपालको आरोप रहेको थियो ।
नेता नेपालले पार्टीमा २ नेताबीच नभई २ विचार समूहको लडाइँ भएको बताए । सरकारले राजनीतिक दल विभाजन गर्न सहज हुने प्रवाधान सहितको अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा पठाएपछि ओलीले मंगलवार नेता नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा सिफारिस गरेका छन् ।
नेता नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरीलाई सांसदबाट हटाउन सिफारिस गरिएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।