काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ ।
एमालेले कारबाही गरेलगत्तै उनीहरुको सांसद पद संकटमा पर्ने देखिएको छ ।
सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेलगत्तै अध्यक्ष केपी शर्मा ओली पक्षले कारबाही थालेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन दफा २८(१) बमोजिम कार्य नगरी दलको ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको एमालेका एक नेताले जानकारी दिए । यसरी कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खातुन, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, लक्ष्मीकुमारी चौधरी, भवानी खापुङ र मेटमणि चौधरी रहेका छन् ।
यी सांसदलाई कारबाही गरिएकाले पदमुक्त गर्नुपर्ने व्यहोरा सहितको पत्र एमालेले मंगलवार नै संसद् सचिवालयमा पठाइएको जनाएको छ । सो पत्र संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको टेबलमा पुगे पनि दर्ता हुन बाँकी रहेको छ ।
बैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदा माधव नेपाल पक्षधर २८ जना सांसदहरु बैठकमा अनुपस्थित भएका थिए । जबकि एमाले संसदीय दलले पक्षमा मतदान गर्न सबै सांसदलाई निर्देशन दिएको थियो ।
उनीहरुमाथि ह्वीप उल्लंघनको आरोपमा कारबाही गर्ने कानूनी सुविधा रहे पनि एमालेले तत्काल कारबाही प्रक्रिया अघि बढाएको थिएन । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।