काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले यथार्थ बुझेर समाचार लेख्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।
परिवर्तनका लागि भिजन एफएम केन्द्रीय प्रसारण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले पत्रकारले यथार्थ बाहिर ल्याउनुपर्ने बताए ।
‘हामी मान्छे हौं, कहिले काहीँ बहकिन्छौं । मैले आफ्नै पहलमा ओखलढुंगामा गाउँगाउँमा भूकम्पको पैसा लिएर हेलिकप्टरमा लगेर गयौं तर पत्रिकामा भूकम्पको नाममा हेलिकप्टर सयर भनेर समाचारहरू आयो । मेरो अनुरोध कुनै पनि कुरा बुझेर समाचार लेखिदिनुहोला,’ उनले भने ।
२०७० सालको संविधान सभाबाट बनेको संविधानपछि जनताले कम्युनिस्टलाई धेरै विश्वास गरेपनि उल्टो भएको उनले बताए । ‘एउटै पार्टीको एउटै गठबन्धनको झण्डै दुईतिहाइको सरकार थियो, हामीलाई मुलुक शान्ति, स्थिरता र विकासको बाटोमा लाग्छ भन्ने विश्वास थियो तर त्यो केही नभएर सबै उल्टो भयो,’ उनले भने, ‘हामीले राजनीतिक स्थिरता भएन भनेर नेपाली जनताले स्थिरताको लागि भोट दिए, फेरि हामी राजनीतिक तानातानमा लाग्यौं, संसद अन्त्य गरेर विधेयक ल्याउन पाइएन तर आज अध्यादेश ल्याउँदैछौं, फेरि हामी त्यहीँ बाटोमा जाँदैछौं ।’

पार्टी फुटको राजनीतिले केही नहुने भएकाले जुटेर देश निर्माणमा लाग्न नेता खतिवडाले आग्रह गरे । ‘प्रजातन्त्रमा पार्टी खोल्न पाइन्छ, जुट्न पनि पाइन्छ र फुट्न पनि पाइन्छ तर अब यो फुटको राजनीतिले देशमा केही हुँदैन । सकेसम्म सबै जुटेर देश निर्माणमा लाग्नुपर्छ,’ उनले भने, ‘केपी ओली सहितको राजनीतिक दललाई अनुरोध गर्दछु – हिजोका तीतामीठा कुराहरूलाई छाडेर एकै ठाउँमा मिलेर मुलुक निर्माण गर्नुहोस् ।’
लोकतान्त्रिक संविधान बचाउनलाई सांसद यज्ञराज सुनुवार राष्ट्रपति कार्यालयदेखि अदालतसम्म लागेकोमा उनले धन्यवाद दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।