आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवाले एक पाइला चाल्दा एमालेमा तरङ्ग, आकस्मिक बैठक बस्दै

देउवाले एक पाइला चाल्दा एमालेमा तरङ्ग, आकस्मिक बैठक बस्दै

  • मिडिया डबली
  • मंगलवार, भाद्र १ २०७८

  • 4.8K
    SHARES

  • देउवाले एक पाइला चाल्दा एमालेमा तरङ्ग, आकस्मिक बैठक बस्दै

    काठमाडौं – संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दल सम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ । 

    सरकारले सोमवार अचानक संसद अधिवेशन अन्त्य गरेपछि एमालेका दुबै पक्ष आन्तरिक छलफलमा जुटेका छन् ।

    एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेताले छलफल गरेका छन् । ‘राजनीतिक दल सम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्ने गरी छलफल अघि बढेको छ,’ ओली निकट एक नेताले भने ।

    छलफलपछि ओलीले राति नै विज्ञप्ति जारी गरी सरकारले पार्टी विभाजन गर्ने गरी अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएका छन् । पार्टी विभाजन गर्ने गरी कुनै पनि प्रकारको अध्यादेश आए त्यो मान्य र क्षम्य नहुने उनले उल्लेख गरेका छन् ।

    ओलीले पार्टीका नेता, कार्यकर्ता, सांसद सबैलाई पार्टी विभाजनविरुद्ध उभिन अपिल गरेका छन् । उनले पार्टीको विवाद मिलाउन १० बुँदे सहमति भइसकेकाले त्यसको पालना र कार्यान्वयन हुने बताएका छन् ।

    साँझको अनौपचारिक छलफलपछि ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय समेत गरेका छन् । स्थायी कमिटी बैठक मंगलवार ११ बजे ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।  

    वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३० भन्दा बढी केन्द्रीय सदस्य समेत छलफलमा जुटेका छन् । उनीहरुले आवश्यक परे राष्ट्रिय भेला बोलाएर भए पनि पार्टी विभाजन हुन नदिने गरी दबाब सिर्जना गर्ने भएका छन् ।

    ‘पार्टी विभाजन हुने अवस्था आए एमालेका दुबै पक्षका नेताले आ–आफ्नो तहमा दबाब दिने गरी कार्यकर्ता परिचालन गर्ने तयारी भएको छ,’ एक नेताले भने ।

    हाल कायम राजनीतिक दल सम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत पुग्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । दुबै ठाउँमा ४० प्रतिशत नपुगेमा दल त्याग गरेको हुने व्यवस्था रहेको छ । यो व्यवस्थाले नेपाल पक्षलाई एमाले विभाजनका लागि रोकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याउने तयारी गरेको स्रोतको दाबी रहेको छ ।

    सरकारले संसदको चालू अधिवेशनमै बजेट पास गराउनुपर्नेमा एमालेमा देखिएको विवादलाई ध्यान दिएर अधिवेशन टुंग्याएको छ । एमालेको ओली पक्षले नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश आउन लागेको आशंका गरिरहेको छ ।

    ‘ओली पक्षले विभाजनको तयारी गरेको छ, त्यसकारण बढी शंका गरेको हो । अध्यादेश आए पनि हामी अन्तिमसम्म पार्टी एकताकै पक्षमा छौं,’ नेपाल निकट एक नेताले भने । उनका अनुसार ओलीले एकताका लागि वातावरण बनाउनुभन्दा पनि विधान संशोधन प्रस्ताव अघि सारेर एकताको ढोका नै बन्द गरेका छन् ।

    नेता नेपाललाई बराबरी अधिकार दिन नमानेपछि एमाले विभाजनको संघारमा पुगेको छ । ओलीले एकतर्फी रुपले महाधिवेशनको तयारी अघि बढाएपछि चिढिएका नेता नेपालले आफू पक्षधर नेतालाई जुनसुकै बेला जे पनि हुन सक्ने भन्दै नयाँ परिस्थितिको सामना गर्न निर्देशन दिएका छन् ।

    नेता नेपाल नयाँ पार्टी गठनको तयारीमा रहेको स्रोतले दाबी गरेको छ । यसबारे स्वयं नेपालले भने केही पनि बताएका छैनन् । पार्टी विभाजन गर्ने नेपालको तयारी र सरकारले संसद् अधिवेशन पनि अन्त्य गरेपछि ओली पक्ष राजनीतिक दलसम्बन्धी अध्यादेश आउनसक्ने भन्दै आवश्यक रणनीति बनाउन लागिपरेको छ ।

    ओली पक्षधर केही नेताले पार्टी विभाजन हुन नदिन अध्यक्षलाई दबाब दिइरहेका छन् । पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, खगराज अधिकारी, खिमलाल भट्टराई लगायतले पार्टी एकता कायम राख्नुपर्नेमा जोड दिइरहेका छन् । एमाले विवाद समाधान कार्यदलमा रहेका नेताहरुले पनि पार्टी एकता कायम राख्न जोड दिइरहेका छन् ।

    अध्यक्ष ओली र नेपाल पक्षका केन्द्रीय सदस्यहरुले दुबै तर्फबाट कार्यदलमा सहभागी नेताहरुलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गरिरहेका छन् । नेपाल पक्षका केन्द्रीय सदस्यहरु यज्ञराज सुनुवार, झपट रावल, सोमप्रसाद पाण्डे, जयकुमार राई, दीपक भट्ट, राजबहादुर बुढा लगायतले पार्टी एकताका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको कार्यदलका सदस्यलाई बताएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend