काठमाडौं - भनिन्छ राजनीतिमा अहं र घमण्डको युग लामो रहन्न । यस्तै नियति अहिले एमालेका तीन नेताले भोग्दैछन् ।
दुई तिहाइको धरहरा ढालेर केपी ओली प्रधानमन्त्रीबाट पदमुक्त भइसकेका छन् । त्यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद गुमेको थियो । आफू अल्पमतमा परेपछि गुरुङ मुख्यमन्त्री पदबाट राजीनामा दिएर बाहिरिएका थिए । त्यसअघि उनले पनि एक महिना विभिन्न जालझेल गरेर पद टिकाएका थिए ।
पृथ्वीसुब्बाको सरकार ढलेलगत्तै केन्द्रमा ओली सरकार ढल्यो । राष्ट्रपतिको आडमा पदमा टिकिरहेका ओलीलाई पदच्यूत गर्ने सर्वोच्च अदालतको परमादेशसँगै उनी बालुवाटारबाट बालकोट फर्केका थिए । ओली पनि अल्मपतको सरकार चलाइरहेका थिए ।
अब पालो लुम्बिनीका शंकर पोखरेलको । पोखरेललाई एमालेमा बौद्धिक र भद्र नेताको ट्याग लागेको थियो । अहिले उनलाई सांसद अपहरणको अभियोग लागेको छ ।
संसद् बहिष्कार गर्ने उनी पहिलो मुख्यमन्त्री पनि हुन् । आज उनीविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले साउन २१ गते प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका थिए । विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ ।
लुम्बिनीमा सत्तारुढ एमालेसँग ३८ जना सांसद छन् । गठबन्धनमा कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका एक गरी ४१ जना सदस्य छन् । सोही कारण पोखरेल स्पष्ट अल्पमतमा परेका छन् । त्यसैले अविश्वासको प्रस्ताव फेस गर्नुभन्दा अघि नै राजीनामा दिएर बाहिरिने चर्चा चल्न थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।