काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको १ महिना नपुग्दै सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट बनेका छन् ।
अध्यक्ष प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडितलाई राहत दिने काममा तीब्रता दिन नसकेकोमा असन्तुष्टि जनाएका छन् ।
प्रचण्डले आईतवार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितसँगको भेटमा सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यो घोषणा अनुसारको कामलाई तीब्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले भने, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला त घोषणा गर्यो तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरू तीब्रताका साथ अगाडि बढ्यो कि बढेन भन्दा अझै पनि ती गतिविधिहरू त्यहीँ अनुसारको तीब्रताका साथ अगाडि बढेको छैन । त्यसैकारण तपाईंहरू प्रधानमन्त्रीसहित सबै नेताहरूलाई ध्यानाकर्षण गराउन आउनुपरेको छ ।’
प्रचण्डले बाढीपीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घच्घच्याउने र उत्प्रेरित गर्ने प्रतिबद्धता जनाएका छन् ।।
प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहित एक पटक मेलम्चीको क्षतिको अवलोकन गर्न चाहेको समेत प्रचण्डले इच्छा व्यक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।