काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षो केन्द्रीय कमिटी बैठकले सम्मानजनक पार्टी एकता हुनुपर्ने निर्णय गरेको छ ।
राजधानी काठमाडौंमा शुक्रवार सम्पन्न २ दिने बैठकपश्चात् पार्टी निर्णय सार्वजनिक गर्दै नेता रघुजी पन्तले गत असार २७ गते सम्पन्न १० बुँदे सहमति एकताको आधार मान्दै निष्कर्ष निकालिएको जानकारी दिँदै ४ बुँदे निर्णयसहित बैठक सकिएको बताए ।
‘हाम्रो अडान सम्मानजनक पार्टी एकता हो,’ १० बुँदे सहमति आधार मानेर एकता प्रक्रिया अगाडि बढाउने निर्णय भएको बताउँदै पन्तले थपे, ‘यसका लागि प्रयास जारी राख्ने सहमति भएको छ ।’
बैठकले १० बुँदे सहमतिको भावनाविपरीत वरिष्ठ नेता नेपालमाथि अनेकौं टिप्पणी गरिएकोमा आपत्ति समेत जनाएको छ । पार्टी एकताका लागि वार्ता चलिरहेको समय अध्यक्ष केपी शर्मा ओली पक्षबाट हुने अधिवेशन र सदस्यता नवीकरण रोक्न माग बैठकबाट गरिएको छ ।
बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यले पार्टी विधानअनुसार ७० वर्ष पुगिसेकेका अध्यक्ष ओलीले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने आवाज उठेको छ । केन्द्रीय सदस्य दिनेश राईले ७० वर्ष पुगिसकेका अध्यक्ष ओलीसहितका नेताले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्नेमा जोड दिएका छन् ।
‘पार्टी विधान कार्यान्वयन गर्दै अध्यक्ष कमरेड केपी ओलीले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्छ,’ उनले भने, ‘विगतमा धेरै नेताले विधान कार्यान्वयन गर्दै सक्रिय राजनीतिबाट विश्राम लिएका छन्, ७० वर्ष पुगिसकेका ओली कमरेडले पनि विधान कार्यान्वयन गर्न आवश्यक छ ।’
एमाले विधान धारा ६५ को उपधारा ३ मा उमेर हदसम्बन्धी व्यवस्था रहेको छ ।
विधान–२०४९ ले (नवौं महाधिवेशनबाट संशोधन २०७१) ले ७० वर्ष पुगेका व्यक्ति कार्यकारी पदमा निर्वाचित वा मनोनित हुन रोक लगाएको छ । २०७१ सालबाट लागू बाध्यकारी प्रावधानकै कारण भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय राजनीतिबाट बिदा लिएका थिए ।
६० वर्ष लामो राजनीतिक जीवनबाट अधिकारीले विधान पालना गर्दै महाधिवेशन हलबाट बिदाइ लिएका थिए । २०७७ फागुन ११ गते अध्यक्ष ओलीले ७० औं जन्मदिन मनाइसकेका छन् । सोही कारण ७० वर्ष पुगिसकेका ओलीले समेत विधान कार्यान्वयन गर्दै बिदा लिनुपर्ने आवाज बैठकमा उठेको छ ।
बैठकमा ओलीले संविधान र लोकतन्त्रविरोधी कार्य गरेकाले सार्वजनिक रुपमा आत्मालोचना नगरे पार्टी एकता नगर्ने सुझाव समेत आएको छ । संविधान र लोकतन्त्रविरुद्ध ओलीले २–२ पटक प्रतिनिधिसभा विघटन गरेपछि सार्वजनिक आत्मालोचना गर्नुपर्ने राईले बताए ।
पार्टी एकता गर्दा सम्मानजनक अवस्थामा मात्रै एकता गर्नुपर्ने दबाब नेता नेपाललाई रहेको छ । बैठकमा आफ्नो धारणा राख्दै अधिकांश केन्द्रीय सदस्यले सम्मानजनक अवस्थामा मात्रै एकता गर्नुपर्ने सुझाव दिए । बिहीवार २३ र शुक्रवार ३२ केन्द्रीय सदस्यले आफ् ना धारणा राखेका छन् ।
आगामी २४ साउनमा एमाले अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ ।
बैठकले गर्ने निर्णयका आधारमा अगामी रणनीति तय गर्ने नेपाल पक्षका नेताले जनाएका छन् । केन्द्रीय कमिटी बैठकमा सबै सदस्य आफ्ना धारणा राख्न नपाउँदै बीचमै बैठक स्थगित गरिएको छ । नेपाल पक्षको स्थायी कमिटी बैठक बसेर थप अगामी रणनीति तय गर्ने जनाइएको छ ।
केन्द्रीय सदस्य दिलु पन्तले बैठकमा अधिकांश नेताले सम्माजनक एकता पक्षमा आवाज उठाएको बताइन् । ओलीसँग कुनै पनि हालतमा आत्मसमर्पण गर्न नहुने नेताहरुको धारणा रहेको छ ।
पटक–पटक जनविरोधी तथा पार्टी विधानविपरीत कार्य गरेकाले ओलीले आत्मालोचना गर्नुपर्ने आवाज बैठकमा उठेको उनले बताइन् । ‘पार्टी एकताको पक्षमै हामी छौं । तर आत्मसमपर्ण गर्न नहुने आवाज बैठकमा उठेको छ । पटक–पटक जनता विरोधी तथा पार्टी विधानविपरित कार्य गर्नेले सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘१० बुँदे पार्टी एकताको प्रस्तावको जगमा त्यसमा परिमार्जन गर्दै सम्मानजनक एकता हुनुपर्ने आवाज उठेको छ ।’
यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले एकताको नाममा पार्टी गतिविधि रोक्न नसकिने स्पष्ट पारेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले एकताका लागि छलफल भइरहेकाले तत्काल अधिवेशन, नवीकरणलगायत गतिविधि रोक्न माग गरेपछि ओली पक्षले स्पष्ट पारेको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रवार बसेको स्थायी कमिटी बैठकमा पार्टी विधान संशोधनबारे छलफल भएको छ । एमाले सचिव तथा प्रवक्ता प्रदिप ज्ञवालीले बैठकपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी गतिविधि जारी रहने बताएका छन् । पार्टीको नियमित काम चल्ने र एकताका लागि कुनै गतिविधि नरोकिने बताउँदै उनले गतिविधि रोक्न आएका सुझाव पार्टी हितविपरीत रहेको औंल्याएका छन् ।
विधान संशोधनमा समेट्नुपर्ने विषयमा स्थायी कमिटी सदस्य, प्रदेश नेता, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समिति सदस्यसँग छलफल भएको छ । विधान संशोधन प्रस्ताव तयार भएपछि सबै तहमा अध्ययनका लागि तयारी समेत गरिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।