काठमाडौं - सत्तारूढ गठबन्धनमा निर्णायक मानिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष बनाएर सरकारको ‘रिमोर्ट’ हातमा दिने तयारी गरिएको छ ।
नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गर्न प्रयास गरिरहेका बेला सत्तारुढ गठबन्धनले नेपाललाई अध्यक्ष बनाउन प्रस्ताव गरिएको हो ।
सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा गर्न गठित ७ सदस्यीय कार्यदलले पनि सरकार सञ्चालनमा सघाउन उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन सुझाव दिएको बेला अध्यक्ष बन्न माधव नेपालको नाम प्रस्ताव भएको छ । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष्ँ बन्न खोजेका थिए । तर अब नेपाललाई ओलीसँग मिल्नबाट रोक्न अध्यक्ष बनाउन खोजिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले नेपाललाई आफ्ना सांसद सरकारमा पठाउन र उच्चस्तरीय संयन्त्रको नेतृत्व गर्न आग्रह गरेका छन् ।
नेता नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक जारी रहेका बेला आफू निकट नेतालाई उनले यसबारे जानकारी गराएका जनाइएको छ । एमाले पार्टी एकताको प्रयास वारपार नहुञ्जेल सरकारमा सहभागी र संयन्त्रको नेतृत्व गर्नेबारे निर्णय लिन नसक्ने नेपालले जवाफ फर्काएका छन् ।
प्रचण्ड र माधव नेपालबीचका पटक–पटकका छलफलमा समेत यिनै विषयमा कुराकानी भएकाले उनलाई पर्खिएका कारण नै मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन । शनिबार वा आईतबारसम्म माधव नेपालले निर्णय दिने स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।