काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गरिरहेका गतिविधिलाई पार्टीले अनाधिकृतको संज्ञा दिएको छ ।
नेपाल पक्षले भोलि बिहीबार केन्द्रीय कमिटी बैठक राखेकोप्रति आपत्ति जनाउँदै एमालेले त्यसमा सहभागी नहुने आग्रह गरेको छ ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जारी गरेको विज्ञप्तिमा भोलि बिहीबार बस्न लागेको नेपाल पक्षको बैठकलाई अनाधिकृत भन्दै आपत्ति प्रकट गरिएको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल कम्यनिस्ट पार्टी एमाले केन्द्रीय कमिटीको नामबाट श्रावण २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु । पटक–पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानून र पार्टी विधान विपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गर्दछु ।’
बुधबारका लागि बोलाइएको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक केही सदस्यहरू उपत्यका बाहिर रहेकाले बिहीबारसम्मका लागि स्थगित गरिएको थियो । बुधबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै एमाले नेता गोकुल बाँस्कोटाले पार्टी विभाजनको घोषणा हुनसक्ने संकेत गरेका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।