काठमाडौं – नेकपा एमालेमा चर्किएको विवाद महिनौंदेखि जारी छ । केन्द्रमा विवाद मिलाउन नेताहरूले दौडधुप गरिरहेपनि कुनै सहमति जुट्न सकेको छैन ।
तर सिन्धुपाल्चोकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमति भएर सूर्य चुनाव चिह्नमा गोलवद्ध हुने घोषणा गरिएको छ ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा पार्टीलाई एकतावद्ध बनाएर लैजानेमा दुबै पक्षबीच सहमति जुटेको छ ।
२०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा पार्टीका सबै संरचनाहरू फर्काउन एमाले सुनकोशीका दुबै पक्षका नेताबीच सहमत भएको छ ।
नेकपा एमाले पार्टी र सूर्य चिह्नको पक्षमा उभिने निर्णय दुबै पक्षले गरेका छन् । नेपाल पक्षीय भनेर चिनिएका नेता टपिन्द्र तिमल्सिनाले भने, ‘केन्द्रमा विवाद नै छ तर हामी सुनकोशीमा भने जता एमाले र सूर्य चिह्न रहन्छ, हामी त्यही हुने निर्णय गरेका छौं ।’
साउन ३० गतेभित्र २०७५ जेठ २ गतेअघिकै कमिटीको बैठक बोलाउने र त्यसअघि दुबै पक्षबीचमा सहजीकरणका लागि ८ सदस्यीय सहजीकरण कमिटी गठन गरिएको तिमिल्सिनाले बताएका छन् ।
एमालेमा केन्द्रमा ओली र नेपाल पक्षबीच विवाद भएपछि असर गाउँ तहसम्म पुगेको छ तर सुनकोशी गाउँ कमिटीमा भने विवाद अन्त्य गर्दै सहमति गरिएको छ ।
केन्द्रीय नेतालाई समेत सन्देश दिने गरेर एमाले र सूर्य चिह्न जता रहन्छ, सबै त्यही रहने निर्णय गरिएको ओली पक्षीय नेता पुरुषोतम प्याकुरेलले जानकारी दिए । अब हुने पालिका स्तरीय भेलामा दुबै पक्षका नेतालाई बोलाउने सहमति नेताहरूबीच भएको नेता ईश्वर तिमल्सिनाले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।