काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट हुने चर्चा चलिरहेका बेला आज मंगलबार बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालनिवास कोटेश्वर पुगेका छन् ।
कोटेश्वरमा एमाले नेता नेपाल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
पछिल्लो समय मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरूबीचको छलफल बाक्लिएको छ । २ नेताबीचको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तार र सरकारका न्यूनतम साझा कार्यक्रम लगायत विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवानिवास बालुवाटारमा सोमवार दिउँसो बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करीब–करीब अन्तिम रूप दिएको छ । एमाले आन्तरिक विवाद सुल्झिन बाँकी रहेको, अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने तयारी भइरहेको समयमा नेपाल र प्रचण्डको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेपाल कांग्रेस सभापति देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय हुँदा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरूले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउनुअघि छलफल गरिरहेका छन् ।
नेताहरू भीम रावल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डेबीच १० बुँदे सहमतिका आधारमा ‘पावर शेयरिङ’ गर्न लागि २ नेताबीच वार्ता गराउने सहमति भएको छ ।
आज मंगलबार समेत ४ नेता वार्ताको वातावरण बनाउन छलफलमा जुटेका छन् । ४ नेताहरूबीचको छलफलपछि आज मंगलवारै दिउँसो वा साँझसम्म ओली र नेपालबीच भेट गराउने तयारी भइरहेको नेम्वाङले बताए । अध्यक्ष ओलीसँग भेट्न अनिच्छुक रहेका नेता नेपाल पछिल्लो समय भेटेर संवाद गर्न सहमत देखिएका छन् ।
नेपाल पक्षधर स्थायी कमिटी सदस्यले सोमबारको बैठकमा वरिष्ठ नेता नेपाललाई अधिकार लेनदेनको सन्दर्भमा ओलीसँग बसेर छलफल गर्न आग्रह गरेका हुन् । नेताहरूको आग्रह मानेर नेता नेपाल वार्तामा बस्न सहमत भएका छन् ।
नेकपा एमाले न एकता, न विभाजनको अवस्थालाई धेरै दिन लम्ब्याउन नहुने कुरामा दुबै पक्ष सहमत रहेका स्थायी कमिटी सदस्य रघुजी पन्त बताएका छन् । एकतामा असर पर्ने खालका अभिव्यक्ति कुनै पक्षबाट समेत दिन नहुने पन्तले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।