काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नयाँ मन्त्री नियुक्तिमा ढिलाइ हुने भएको छ ।
सत्तारुढ दलबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताबीच सोमवार बालुवाटारमा भएको छलफलमा मंगलवारसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री नियुक्त भएको ३ हप्ता पुग्दा समेत सरकारले पूर्णता नपाएको भन्दै आलोचना हुँदैछ तर सोमवार शीर्ष नेताबीच गठबन्धन सरकारका न्यूनतम साझा कार्यक्रमपछि मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।
सरकार सञ्चालन सम्बन्धी सत्तारुढ गठबन्धनको कार्यदलका संयोजक समेत रहेका महामन्त्री खड्काले भने, ‘सरकार विस्तार, मन्त्रालय भागबण्डा र सरकारका न्यूनतम कार्यक्रमबारे छलफल भएको हो । पहिला न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार गर्ने समझदारी भएको हो ।’
आज सोमवारको छलफलमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका थिए । शीर्ष नेताबीच सरकारलाई प्रभावकारी बनाउनेबारे केन्द्रित भएको कांग्रेस महामन्त्री खड्काले जानकारी दिए ।
कार्यदलले मंगलवारसम्म सरकारका न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने भएको छ । महामन्त्री खड्का संयोजक रहेको ७ सदस्यीय कार्यदलले मस्यौदामाथि छलफल गरेको छ ।
कार्यदलमा कांग्रेसबाट खड्कासहित नेता, मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षामान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।