काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सी हात पर्नुमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको इगो प्रोब्लम नै हो ।
त्यसमाथि प्रचण्डले ओलीसँग प्रधानमन्त्रीको आधा हिस्सा अर्थात् साढे दुई वर्षे कार्यकाल चलाउने प्रस्ताव गरेका थिए । तर, प्रचण्डसँगको सहमति तोड्दा ओली अहिले बालुवाटारबाट मात्र होइन, सत्ताबाटै हुत्याइएका छन् ।
अहिलेको नेपालको राजनीतिमा तापमान बढाउने एक मात्र नेता माधव नेपाल हुन् । उनले एमाले अध्यक्ष ओलीको निद्रा त बिथोलेकै छन्, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको चैन पनि खलबल्याएका छन् । उनीबिना न एमालेले बैतरणी तर्छ, न सरकारले पूर्णता पाउँछ ।
माधव अहिले केपी ओली र प्रधानमन्त्री देउवाको तानातानमा परेका छन् । ओली माधवलाई गठबन्धनबाट अलग गराएर देउवाको कुर्सीलाई अनिश्चित बनाउन चाहन्छन् । देउवा भने माधवलाई साथमा लिएर साढे एक वर्ष स्थिर सरकार चलाउन चाहन्छन् ।
प्रचण्ड भने माधव नेपाललाई कुनै पनि हालतमा ओलीसँग मिल्न नदिने रणनीतिमा छन् । अहिलेकै अवस्था चुनावसम्म लगेर नेपालसँग सहकार्य गर्दै चुनाव जित्ने प्रचण्ड दाउ छ । यदि माधव एमालेमा गएमा फेरि पनि आगामी निर्वाचनमा एमाले बलियो हुने र आफ्नो पार्टी कमजोर हुने भय प्रचण्डमा छ । सोही कारण माधव एमालेमै फर्किहाल्ने हुन् कि भन्ने डर प्रचण्डमा देखिएको हो ।
पार्टी एकताका लागि पनि माधव समूह लचिलो बनेको छ । ओलीलाई मात्र होइन, पार्टीका बराबरी अधिकार आफूमा हुनुपर्ने नेता नेपालको अडान छ । आफ्नो सांगठानिक गतिविधिमा रोक लगाएका कारण अध्यक्ष ओली र उनी निकट समूहले पेल्न थालेको ठहर गर्दै माधव पक्षले चैतअघिकै जस्तो समानान्तर कमिटीलाई सक्रिय बनाउने तयारी गरेको हो ।
एमालेको केन्द्रीय कमिटीमा ओली बहुमत देखिए पनि भ्रातृसंगठनमा भने माधव नेपाल बलियो छन् । यदि माधव पक्षले समानान्तर संगठनको अभ्यास अगाडि बढाएमा ओली पक्षको अवस्था निकै दयनीय हुने एमाले नेताहरू बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।