आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीसँगै मिल्न माधव नेपालले राखे यस्तो नयाँ शर्त, के–के चाहियो ?

केपी ओलीसँगै मिल्न माधव नेपालले राखे यस्तो नयाँ शर्त, के–के चाहियो ?

  • मिडिया डबली
  • सोमवार, श्रावण १८ २०७८

  • 6.3K
    SHARES

  • केपी ओलीसँगै मिल्न माधव नेपालले राखे यस्तो नयाँ शर्त, के–के चाहियो ?

    काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको शर्त राखेका छन् ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल पक्षलाई पार्टीभित्रै राख्ने योजना बनाएका छन् तर नेता नेपालले दोस्रो अध्यक्ष अस्वीकार गर्दै पार्टी एकताका लागि ओलीलाई भएजति अधिकार आफूले पनि प्रयोग गर्नु पाउनुपर्ने माग राखेका छन् ।

    ‘पार्टीभित्र लामो समय विवाद भयो । फेरि पनि बहुमतका नाममा पेल्ने काम हुनेछ । नेताहरुको मूल्यांकन हुने सम्भावना कम छ । पहिला पनि धेरै नै पेलेपछि अहिलेको अवस्था आएकाले सबै नेता र कार्यकर्तालाई समान जिम्मेवारी दिनका लागि पनि बराबरी अधिकार आवश्यक छ,’ नेता नेपाललाई उदृत गर्दै स्रोतले भन्यो । स्रोतका अनुसार नेपालले पार्टीमा दोस्रो अध्यक्ष होइन, ओलीले बराबर अधिकार प्रयोग गर्न चाहेका छन् ।

    नेता नेपालले आईतवार बिहान धेरै समय पर्ख र हेरको अवस्थामा बस्ने स्थिति नभएकाले निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा आफ्नो पनि हस्ताक्षर चल्ने अवस्था आएमा एमालेमै बस्न सकिने सन्देश ओलीलाई पठाएका छन् तर ओलीले नेपालको सन्देशको कुनै जवाफ नदिएको स्रोतले जनाएको छ ।

    पार्टी उपाध्यक्ष भीम रावल र सुरेन्द्र पाण्डेले नेता नेपालको सन्देश लिएर ओलीसँग भेटघाट गरेका थिए । ओली भने नेपालको माग स्वीकार गर्न इच्छुक देखिएका छैनन् ।

    नेता पृथ्वीसुब्बा गुरुङ लगायतले दबाब दिएपछि ओली नेपाल पक्षलाई पार्टीमा ल्याउन तयार भएका हुन् । उनी कार्यदलले तयार पारेको १० बुँदे सहमतिभित्रै रहेर विवाद मिलाउने पक्षमा रहेका छन् । उनले १० बुँदे सहमतिमै टेकेर अघि बढ्नुपर्ने बताए । 

    गुरुङले स्थायी कमिटीको आईतवार बसेको बैठकमा सुवासचन्द्र नेम्बाङ र विष्णु पौडेललाई एकताका लागि व्यावहारिक रूपमा अधिकतम प्रयास गर्न निर्देशन दिएका छन् । अध्यक्ष ओलीले बैठकमा नेपालको सन्देशबारे केही नबोलेको एक नेताले बताएका छन् ।

    नेपाल पक्षका नेताहरु पनि दिनभर छलफलमा जुटे पनि कुनै निष्कर्षमा पुग्न सकेनन् । अध्यक्ष ओलीले सोमवार पनि स्थायी कमिटी बैठक डाकेका छन् । नेता नेपालले पार्टीमा आफ्नो पनि हस्ताक्षर चल्नुपर्ने विषयलाई एकताको बटमलाइन बनाएपछि उनी पक्षबाट कार्यदलमा रहेका नेताहरु पनि अन्योलमा परेका छन् ।

    नेता नेपाल पक्षका नेताहरूले ओली र नेपालबीच संवाद गराउन खोजे पनि सफलता मिलेको छैन ।

    विवाद नमिले नेपाल पक्षमा पनि फाटो आउने अवस्था देखिएको छ । हालसम्म नेपाल पक्ष एक ढिक्का देखिएको छ ।

    यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका सहभागी हुन सत्ता गठबन्धनले पटक–पटक नेता नेपाललाई आग्रह गरेको छ । नेता नेपालले विवाद मिले पार्टीमै रहने नत्र सरकारमा आउने सन्देश दिएका छन् । नेता नेपालले आईतवार प्रधानमन्त्री देउवालाई फोन गरेर मन्त्रिपरिषद् विस्तार रोक्न आग्रह गर्दै एमाले भित्रको विवाद मिल्ने अवस्थामा पुगेको र नमिले आफूहरु सरकारमा सहभागी हुने बताए ।

    ‘आज एकदिन रोकिदिनुस् । हाम्रो विवाद मिल्ने अवस्थामा केन्द्रित छ । हेरौं, मिल्यो भने सरकारमा आउँदैनौं,’ नेता नेपाललाई उदृत गर्दै स्रोतले भन्यो । प्रधानमन्त्री देउवा आईतवार मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका थिए । विवाद नमिले नेपाल पक्षका ३ नेता सरकारमा जान तयारी अवस्थामा रहेको स्रोतको दाबी गरेको छ ।

    अध्यक्ष ओलीसँग असहमत नेताहरुले समेत देउवालाई भेटेर मन्त्री माग गरेको र उनीहरुले शनिवार साँझ नेपाललाई पनि भेटेर सरकारमा सहभागी हुन दबाब दिएका छन् ।  

    यसैबीच, पार्टी विवाद मिलाउन गृहकार्य भइरहेका बेला एमाले स्थायी कमिटी बैठकले महधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बैठकले ३ असोजमा देशभरका वडामा अधिवेशन र ९ असोजमा स्थानीय तहमा अधिवेशन गर्ने प्रस्तावसहित कार्यतालिका सार्वजनिक गरेको छ ।

    एमाले सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार यही प्रस्ताव पारित गर्न साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ । ‘देशव्यापी रूपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिसक्ने तयारी छ । विधान अधिवेशन लगायतका विषय टुंगो लगाउन साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ,’ प्रवक्ता ज्ञवालीले भनेका छन् । संगठित सदस्यता नवीकरण २७ साउनभित्र सक्ने निर्णय बैठकले गरेको छ ।

    बैठकले विधान महधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव, ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा पेश गर्नेछन् । बैठकले विधान महाधिवेशनको व्यवस्थापन जिम्मेवारी रामबहादुर थापालाई दिएको छ ।

    बैठकपछि एमाले महासचिव पोखरेले पार्टीमा दोस्रो अध्यक्ष बनाउने व्यवस्था विधानमा नभएकाले त्यसो गर्न उपयुक्त नहुने बताएका छन् । उनले प्राविधिक रूपमा पार्टीमा २ अध्यक्ष बनाए पनि विधानअनुसार नमिल्ने बताएका छन् । उनले पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको बताए ।

    स्थायी कमिटीको आईतवारको बैठकमा आफूलाई माओवादी केन्द्रको सदस्य दावी गर्ने लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह लगायत सहभागी भएका थिए । उनीहरुले केही दिनअघि सर्वोच्च अदालतमा आफूहरु एमालेको सदस्य नभई माओवादीकै भएको दाबी गर्दै रिट दायर गरेका थिए ।

    बैठकमा उपाध्यक्ष बामदेव गौतम समेत सहभागी भएका थिए । बैठकले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको छ ।

    आन्तरिक विवाद समाधानका लागि वार्ता, छलफल चलिरहेको भन्दै बैठकले थप कुनै निर्णय गरेको छैन । ‘पार्टीलाई एकताबद्ध बनाउने प्रयास जारी छ । अहिले ठोस निर्णय भएको छैन,’ महासचिव पोखरेलले भनेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend