काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका रामबहादुर थापा ‘बादल’लाई विशेष जिम्मेवारी मिलेको छ ।
आईतबार बसेको एमाले स्थायी कमिटी बैठकले बादललाई विधान महाधिवेशन व्यवस्थापन कार्यदलको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकले भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको बैठकले विधान महाधिवेशनबारे निर्णय गरेको छ ।
बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा र संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ ।
संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
विधान महाधिवेशनको प्रस्तावलाई अन्तिम रूप दिन र आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको बैठक आगामी हप्ता आयोजना गरिने भएको छ । बैठकले आगामी असोजको पहिलो हप्ता देशका सबै वडाहरूमा वडा अधिवेशन र दोस्रो हप्ता सबै पालिकाहरूमा पालिकास्तरमा पार्टी अधिवेशन गर्ने निर्णय समेत गरेको विज्ञप्तिमा जनाइएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।