काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भित्रको एकता अहिले हस्ताक्षरमा आएर अड्किएको छ ।
निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुबै नेता केपी ओली र माधवकुमार नेपालको संयुक्त हस्ताक्षर रहनुपर्ने भन्ने विषयमा कुरा मिल्न नसकेको हो ।
आगामी महाधिवेशनसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्ने नेपाल पक्षको मागमा ओली असहमत हुँदा विवाद निरुपणमा समस्या आएको छ ।
‘एमालेभित्र पार्टी अध्यक्ष ओलीसरह नै नेता नेपालको हस्ताक्षरले पनि वैधता पाउनुपर्ने भन्ने विषयमा एकता अड्किएको छ,’ स्रोतले भन्यो । आफू दोस्रो अध्यक्ष नहुने तर आफूनिकट कार्यकर्तामाथि भेदभाव हुनसक्ने र जसको नकारात्मक असरले आगामी निर्वाचनमा उनीहरु अन्यायमा पर्न सक्ने भन्दै संयुक्त हस्ताक्षर आवश्यक रहेको प्रस्ताव नेता नेपालले अघि बढाएका थिए ।
नेकपा एमाले विधानले दोस्रो अध्यक्ष नचिन्ने भएकाले पार्टी भित्रको विवाद मिलाउने कुरामा कार्यदलले तय गर्ने तर केन्द्रमा भने समान हस्ताक्षर आवश्यक रहेको नेता नेपालको भनाइ रहँदै आएको छ ।
कोही पनि अन्यायमा नपरुन् भन्ने नेता नेपालको चाहना रहेकाले त्यस्तो सर्त अघि सारिएको उनीनिकट एक नेताले बताए । तर ओली र उनको समूहमा रहेका केही नेताले सो विषयलाई नरुचाएको बताइएको छ ।
ओली पक्षबाट कार्यदलमा रहेका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली जसरी पनि पार्टीलाई फुट्नबाट जोगाउनुपर्छ भनेर लागिरहे पनि ओली र उनीनिकट अन्य केही नेताले भने निर्वाचन आयोगलगायत निकायहरुमा संयुक्त हस्ताक्षरको प्रबन्ध गर्नै नहुने अडान राख्दै आएका छन् ।
सोही अडानका कारण ओली र नेपालबीच पछिल्लो समय कुनै संवाद हुन नसकेको जनाइएको छ । नेता नेपालले आफूलाई भेट्न पुगेका नेम्बाङ र पौडेललाई कुरा मिलेपछि मात्रै ओलीसँग भेट्ने त्यसअघि हुने भेटको कुनै अर्थ नहुने बताएका छन् ।
उनीहरुको भेटमा केही सकारात्मक कुराकानी भए पनि दुबै नेताबीच संवादको वातावरण भने बन्न सकेन । ओलीका तर्फबाट विधान संशोधन गरेर भए पनि नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव गरिएको थियो तर नेपालले अस्वीकार गरेपछि बराबरीको हैसियतमा संयुक्त हस्ताक्षरको विषय अघि सारिएको थियो ।
ओलीले शुक्रवारसम्म जसरी पनि विवाद निरुपण गर्नुपर्ने र शनिवार स्थायी कमिटीको बैठक बस्ने बताएका थिए । त्यही क्रममा ओलीका तर्फबाट बिहीवार र शुक्रवार क्रमशः नेम्बाङ र पौडेलले नेपालसँग कुराकानी गरेका थिए । उनीहरु दुबैले कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्न र भेटघाट गरी विवाद मिलाउन अनुरोध गरेको थिए ।
नेपालले कुरा नमिलिकन भेटघाट नगर्ने बताएपछि ओलीले शनिवार दिउँसो ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाएका थिए । तर बैठक कार्यदलका सदस्यहरुको आग्रहमा स्थगित भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा नेताहरु पुगिसके पनि एकता प्रक्रियालाई अघि बढाउन भन्दै बैठक स्थगित गरिएको थियो ।
‘नेताहरुसँगको भेटघाटमा मीठा कुराकानी हुन्छन् तर निष्कर्ष निस्कँदैन । आइतवारसम्म केही प्रगति भइहाल्छ कि भनेर आज शनिवारको बैठक स्थगित गरिएको हो,’ स्थायी कमिटीका एक सदस्यले भने ।
पार्टी बैठक शुरू हुन लाग्दा कार्यदलमा रहेका सदस्यहरुले एकताको गति अघि बढाउन भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले विघटित कार्यदलका सदस्यहरुको सिंहदरबारमा बसेको अनौपचारिक छलफलपछि बैठक स्थगित गरिएको बताएका छन् ।
शनिवार बैठकमा भाग लिन उपाध्यक्ष बामदेव गौतम पनि गएका थिए । कार्यदलका सदस्यहरुले पार्टी एकता बचाउने सम्भावना बाँकी नै रहेको भन्दै गौतमले ओलीलाई नेपालसँग संवाद थाल्न आग्रह गरेका थिए तर शनिवार रातिसम्म संवादको विषयमा कुनै प्रगति भएको छैन ।
कार्यदलका सदस्यमध्ये पार्टी उपमहासचिव समेत रहेका विष्णु पौडेलले पार्टीभित्रको विवाद मिल्ने दाबी गरे । पौडेलले केही समस्या मात्र रहेकाले विवाद मिल्ने अपेक्षा गरिएको बताए ।
‘लामो समय विवाद हुँदा निश्चय पनि केही समस्या देखा पर्छन् तर विवाद नमिल्नुपर्ने कुनै कारण देखेको छैन,’ उनले भनेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।