काठमाडौं – सर्वाेच्च अदालतको फैसलासँगै प्रधानमन्त्री पदबाट बाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्न खोज्दैछन् ? नेकपा एमालेलाई एकतावद्ध गरेर ओली फेरि प्रधानमन्त्री बन्न सक्छन् ?
यस्तै प्रश्नका बीच एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न खुलेआम चेतावनी दिए ।
नेता नेपाल निकट अखिल फोर्सले आज शनिवार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै उनले जालझेल, षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिए ।
नेता नेपालले भने, ‘यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षड्यन्त्र कसैले नगरोस् । अब जे हुनेछ पारदर्शी ढंगले हुनेछ ।’
नेता नेपालले अगाडि भने, ‘संविधानको संरक्षण भएको छ, संविधानको सही व्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौं ।’
संविधान जोगाएर नयाँ सरकार बनाएको बताउँदै नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राम्रो काम गरेर देखाउन समेत आग्रह गरेका छन् ।
नेता नेपालले सही विचार आत्मसात गरेर अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
नेता नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् । नेता नेपालले दार्चुला घटनामा संलग्नलाई कारबाही गर्न भारत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
‘महाकाली नदीमा घटेको घटना हामीले सुन्यौं, त्यो घटना अमानवीय देखियो भनेर आएको छ । त्यसको छानबिन गरियोस् । ती व्यक्तिहरूको बदमासीले होस् वा लापरवाहीले होस्, जुनसुकै कारणले पनि एउटा नेपाली युवा पानीमा बेपत्ता भएको सुन्नमा आएको छ । त्यस्तालाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु र म नेपाल सरकारले तत्काल यो कुरा उठाउने काम गरोस् भनेर ध्यानाकर्षण गराउन चाहन्छु,’ नेता नेपालले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।